धरान/ आठौं भेडेटार फुड फेस्टिवलको प्रचारका लागि आइतबार धरानमा मैत्रीपूर्ण बास्केटबल खेल सम्पन्न भएको छ ।

नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीको आयोजनामा महासङ्घ र भेट्रान बास्केटबल टिमबीच मैत्रीपूर्ण खेल भएको हो । खेलमा महासङ्घको टोलीले ३८–२७ अङ्कले भेट्रान बास्केटबल टिमलाई पराजित गरेको छ । खेलका प्रत्येक क्वार्टरमा महासङ्घको टोलीले अग्रता कायम गरेको थियो । धरान–१६ स्थित मिनी कभर्ड हलमा खेल सम्पन्न भएको हो ।

फेस्टिवलमा महासङ्घको टोलीले प्रदेश १ स्तरीय फोटो प्रदर्शनी गर्न लागेको छ । त्यहाँ विभिन्न फोटो पत्रकारहरूले खिचेका पर्यटकीय क्षेत्रको तस्बिरहरू प्रदर्शनीसहित बिक्रीका लागि पनि राखिने जिल्ला अध्यक्ष विकास चाम्लिङले जानकारी दिए । फेस्टिवल पुस १५ गतेदेखि शुरु हुँदै छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष फेस्टिवल आयोजना गरिदै आएको छ ।