बिर्तामोड । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको कनकाई महिला फुटबल टिम प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जीतसँगै कनकाईले कम्तिमा ५१ हजार १११ रुपैयाँ सुरक्षित गरेको छ ।

आइतबार बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै कनकाई फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो हाफको १५ र २४ औँ मिनेटमा कनकाईकी सरिता शेर्पाले गरेको गोल नै निर्णायक भयो । खेलको वुमन्स अफ दि म्याच विजयी टोली कनकाईकी गोलकर्ता शेर्पा घोषित भइन् । उनलाई झापा फुटबल क्लबका अध्यक्ष तथा झापा गोल्डकपका महासचिव गजेन्द्र पौडेलले नगद एक हजार ५०० प्रदान गरे ।

पुस १५ गते तमु ल्होसारका दिन कनकाईले धरान महिला फुटबल टिमसँग फाइनल खेल खेल्नेछ । धरानले इलामलाई हराउँदै फाइनल प्रवेश गरेको हो । कनकाईले अघिल्लो खेलमा मोरङलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

‘तमू ल्होसार गोल्डकप–२०७६’ प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले नगद ५१ हजार १११ रुपैयाँ प्राप्त गर्ने आयोजक बिर्तामोड फुटबल क्लबका अध्यक्ष डिके गुरुङले जानकारी दिए । फाइनल प्रतिस्पर्धाअगाडि तमु समुदायको विशेष सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।