धरान/१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दो अन्तर्गतको पुम्से विधामा स्वर्ण र काँस्य पदकधारी धरानकी चेलीलाई गृहनगरमा स्वागत सम्मान गरिएको छ ।

स्वर्णधारी सीना मादेन लिम्बूलाई धरान–१५ मा स्वागत सम्मान गरिएको हो । उनी धरान–५ निवासी हुन् । उनले एकल विधामा स्वर्ण हात पार्दा इभेन्टतर्फ काँस्य पदक जितेकी थिइन् । धरान–१५ बगरकोटस्थित होटल एमएचमा उनलाई स्वागत सम्मान गरिएको छ । त्यसक्रममा लिम्बूको मौलिक बाजा च्याब्रुङ बजाएर गाउँबासीले स्वागत गरेका थिए । उनले भारतकी प्रतिस्पर्धी रूपा बयोरलाई शून्य दशमलव शून्य २ अङ्कले उछिन्दै स्वर्ण हात पारेकी थिइन् । सीनाले ८.१५० ल्याउँदा रूपाले ८.१३० ल्याएकी थिइन् । सीनाले तेह्रौं सागमा तेक्वान्दोतर्फ दोस्रो र नेपालका लागि समग्रमा पाँचौं स्वणधारी हुन् ।

उनले जितको खुशीसहित गृहनगरमा स्वागत गरिँदा आफूलाई धेरै नै हौसला मिलेको बताइन् । उनी ११ वर्षको उमेरदेखि नै तेक्वान्दो खेल्दै आएकी छन् । उनी नवीन मादेन र विष्णु मादेनको कान्छी छोरी हुन् । नवीन तेक्वान्दोको प्रशिक्षक हुन् । उनले भनिन्, ‘मेरो सफलताका पछाडि मेरो परिवार र गुरुको हात छ । यो पदक सारा धरानबासी मात्रै नभइ नेपालीहरूमा समर्पित गर्दछु ।’

उनले आफू अन्तर्राष्ट्रिय पदक जित्ने सपनामा सागमा भिडन्त गरेको बताइन् । सागमा स्वर्णधारी हुन पाउँदा भने आफ्नो विगतमा देखेको सपना पूरा भएको बताइन् । सागमा स्वर्णधारीलाई सरकारले जनही नगद ९ लाख रुपैयाँ दिने घोषणासमेत गरेको छ । यसले पनि खेल क्षेत्रमा लाग्न थप प्रेरित गरेको बुबा नवीनको भनाइ छ ।

sina1