भद्रपुर / भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिभर साइड ‘बिच’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजनामा दोस्रो संस्करणको बिच भलिबल प्रतियोगिता पुस ५ गते शनिबारदेखि ७ सम्म सञ्चालन हुँदैछ । बिच भलिबलको उद्घाटन नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रवेशद्वार मेची पुलको तल नदीमा आयोजित हुने प्रतियोगितालाई सन् २०२० पर्यटन वर्षसँग जोड्नुका साथै पूर्वी सीमा नाका मेची नदीमा अवसर र चुनौति, बनाऊ हामी सबै मिली यसलाई साझा सम्पत्ति भन्ने सन्देश दिन लागेको वडाध्यक्ष कार्कीले बताए । गतवर्ष सफतापूर्वक सम्पन्न भएको प्रतियोगितालाई भव्यता दिन सम्पूर्ण तयारी पूरा भइसकेको कार्कीले बताए । नेपाल–भारतबीच सद्भाव र एकता कायम राख्न पनि यसले सन्देश दिने उनको भनाइ छ ।

प्रतियोगितामा नगरभरिका १० वटा वडाले सहभागिता जनाउने भएका छन् । शनिबार उद्घाटनमा चार वटा खेल हुनेछन् । उद्घाटनका दिन वडा १ र ५, वडा ३ र ७, वडा ४ र ८, वडा २ र ६ बीच खेल हुने जनाइएको छ ।

विजेता टिमलाई नगद ३० हजारसहित शिल्ड प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद २० र तृतीय हुने टिमलाई नगद १० हजारसहित शिल्ड प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको लागि वडाको सिलिङबाट १ लाख ७० हजार रकम छुट्याइएको छ । त्यसैगरी सोही अवसरमा अग्रज पत्रकार माधव विद्रोही र गोपाल गिरीलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।