धरान । धरान युके नेपाल कल्याणकारी समाजले बिहीबार धरान छाताचौकस्थित पुनस्र्थापना गृहलाई आर्थिक सहयोग गरेको छ ।

संस्था स्थापनाको एक वर्ष पुगेको अवसर पारेर गृहलाई २५ हजार रुपैयाँ नगद सहयोग गरेको हो । गृहमा हाल २६ जना अनाथ, अपाङ्ग तथा असहाय बालबालिका र वृद्धवृद्धा बस्दै आएका छन् । उनीहरूको लालनपालन गर्दै आएका गृहका सञ्चालक भीम राईलाई नगद हस्तान्तरण गरिएको छ । त्यसक्रममा समाजका सदस्यद्वय दिलकुमार÷कल्पना राईले १० हजार रुपैयाँ नगद प्रदान गरेका छन् ।

समाजले धरानको भौतिक विकासका लागि थुप्रै सहयोग गरे पनि अब मानवीय विकासमा पनि सहयोग गर्ने समाजसेवी मिनकुमार सुब्बाले बताए । ‘भौतिक विकासमा मात्र हैन, मानव विकासमा पनि लाग्नु पर्छ भन्ने हेतुले संस्था अगाडि बढेको छ’–सुब्बाले भने । रकम सहयोग गर्नका लागि समाजबाट निर्मल गुरुङ पनि सहभागी भएका थिए ।