भण्टाबारी/ नेपाल–भारत संयुक्त सुरक्षा बैठकले दसगजाबाट अतिक्रमित संरचना हटाउने सहमति गरेको छ । भारत बिहारको सुपौल जिल्लास्थित भीमनगरमा मङ्गलबार सम्पन्न संयुक्त सुरक्षा बैठकले नेपाल–भारत दसगजा क्षेत्र खाली गराउने कार्यलाई निरन्तरता दिने सहमति गरेको हो ।

सुनसरीबाट हराएका २३ वटा सीमास्तम्भ खोजी गर्ने र दसगजामा बनाइएका भौतिक संरचना हटाउने सहमति भएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीका एसपी कृष्ण ढकालले जानकारी दिए । ‘दसगजामा जङ्गे पिलर कुनै भत्केको वा जीर्ण भएको तथा कुनै बालुवाले पुरिएका छन्’ उनले भने, ‘त्यस्तालाई खोजी गर्नेबारे कुरा भएको छ ।’ भारतीय सीमा सुरक्षा बल एसएसबीसमेत यसबारे सकारात्मक रहेको एसपी ढकालले बताए । भारतीय एसएसबीसँग मिलेर संयुक्तरूपमा सीमास्तम्भ खोज्ने सहमति गरिएको जनाउँदै ढकालले नदेखिने गरी सीमास्तम्भ बालुवामा पुरिएको अवस्थामा पाइएकोले त्यस्ता सीमास्तम्भ खोज्ने र एसएसबीसँग मिलेर पूर्वावस्थामा फर्काउन सहकार्य गरेर जाने सहमति गरिएको बताए ।

नेपाल–भारत दसगजा क्षेत्रमा सुनसरीका विभिन्न स्थानबाट मुख्य, सहायक गरी २३ वटा सीमास्तम्भ हराएका छन् । नेपाल–भारत सीमाक्षेत्रमा २ सय ९० वटा सीमास्तम्भ हुनुपर्नेमा हाल २३ वटा हराएको पाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीले जनाउँदै आएको छ । यद्यपि सशस्त्र प्रहरीले सुनसरीबाट २३ वटा सीमास्तम्भ हराएको भने पनि त्योभन्दा बढी सीमास्तम्भ हराएको अनुमान गरिएको छ । तीमध्ये सिमानामा रहेका अधिकांश सीमास्तम्भ जीर्ण अवस्थामा छन् ।

भारतसँग सीमामा जोडिएको सुनसरीका विभिन्न क्षेत्रमा हराएका सीमास्तम्भ खोजी गरी मर्मत गर्नेबारे संयुक्त सुरक्षा बैठकमा कुरा राखेको जनाउँदै एसपी ढकालले एसएसबीले सहकार्य गर्ने आश्वासन दिएको बताए । ‘हामीले हराएका सीमास्तम्भ खोज्ने र कुन सीमास्तम्भ कस्तो अवस्था छन् भन्ने बारेमा माथिल्लो निकायमा रिपोर्टिङ मात्र गर्ने गरेका छौँ’ उनले भने, ‘तर, एसएसबीलाई सीमास्तम्भ निर्माण, पुनः निर्माण वा मर्मत गर्ने अधिकार दिइएको छ ।’ नेपालमा भने सीमा स्तम्भ निर्माण गर्ने अधिकार नापी विभागको भएको एसपी ढकालले बताए । नेपाल–भारत दुवै देशका लागि सीमास्तम्भ चासोको विषय भएकोले भारतीय पक्षसमेत संयुक्तरूपमा सीमास्तम्भको खोजीकार्य गर्न तयार रहेको उनले बताए ।

संयुक्त सुरक्षा बैठकमा दुवै देशका सुरक्षाकर्मीले सीमास्तम्भको अवस्थाका बारेमा बुझ्नुका साथै सीमाक्षेत्रमा हुने चोरी तस्करी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहकार्य गर्ने समझदारी गरेको छ । उक्त बैठकमा दसगजामा दुवैतर्फबाट अतिक्रमण गरिएका भू–भाग खाली गराउने, सीमावर्ती क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्नुका साथै दसगजा क्षेत्रमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याका बारेमा छलफल गरिएको थियो ।

नियमित सुरक्षा बैठक अन्तर्गत नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको जनाउँदै एसएसबी ४५ औं बटालियन सुपौल जिल्लाका कमाण्डेण्ट एचके गुप्ताले सीमावर्ती क्षेत्रमा भएका समस्या समाधान गर्न योजना बनाएको बताए । यस्ता बैठकले दुवै देशका सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने र शान्तिसुरक्षा थप मजबुत हुने कमाण्डेण्ट गुप्ताको भनाइ छ । चेतना अभावमा गरिब सर्वसाधारण दसगजामा घरटहरा बनाएको जनाउँदै एसपी ढकालले सर्वसाधारणको दुःखमा प्रहरीको साथ सदा रहे पनि उक्त कार्य अन्तर्राष्ट्रिय कानूनअनुसार सीमा अतिक्रमण भएकोले हटाउनुपर्ने अवस्था रहेको बताए । दुवै देशका सर्वसाधारणले दसगजामा घरटहरा र खेतीपाती गर्दै आएकोले दसगजाबाट भौतिक संरचना हटाएर दसगजा क्षेत्रमा त्यसो नगर्ने बारे उनीहरूमा चेतना फैलाउनु आवश्यक रहेको उनले बताए ।