बेलबारी/ १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण गर्दा सबैको भावनालाई समेटिने धारणा व्यक्त गरेका छन् ।

मङ्गलबार मोरङको विराटचोकमा आयोजित नेपाल तामाङ घेदुङ सङ्घ १ नम्बर प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले त्यस्तो बताएका हुन् ।

प्रदेशको नामाकरणको विषय संविधानसभाले पाँचवर्ष ८ महिनामा समेत टुङ्गो लगाउन नसकेको हुँदा यो निकै गहन विषय भएकोले यो निकै चुनौतिपूर्ण रहेको मुख्यमन्त्री राईले बताए । केन्द्रमा नामाकरण गर्दा सहमति जुट्न नसकेपछि अहिले प्रदेश सरकारलाई जिम्मा आएको छ । सबैको भावनालाई समेटिने राईले बताए ।

मन्तव्यकै क्रममा उठेको सवालको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले तामाङहरूको सोनाम ल्होसारमा यसपटक भने बिदा दिने आश्वासन दिएका छन् । गतसाल १ नम्बर प्रदेशमा ल्होसारको अवसरमा बिदा नदिएपछि तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले मन्तव्यको क्रममा मुख्यमन्त्रीलाई अनुरोध गरेका थिए ।

त्यसैगरी कार्यक्रममा घेदुङका प्रशिक्षण विभाग प्रमुख काजीमान तामाङले तामाङ समुदायको धार्मिक, आर्थिक सांस्कृतिक समस्यालाई केलाउँदै अब तामाङ समुदाय राजनैतिक रूपमा अधिकार खोजेर अगाडि आउनुपर्ने बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, सांसद् राजकुमार ओझा, लोकप्रसाद सङ्ग्रौला, सुन्दरहरैंचाका मेयर शिव ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा तामाङ समुदायले मौलिकता झल्कने गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । सम्मेलन बुधबारसम्म चल्नेछ । सम्मलेनले प्रदेश समितिको चयनसमेत गर्ने बताएको छ ।