भद्रपुर /  भद्रपुरको फर्निचर उद्योगमा बुधवार राती आगलागी हुदाँ अन्दाजी साढे ३ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर ८ स्थित सगरमाथा चोक पश्चिममा रहेको मोहम्मद हुसेन अन्सारीको फर्निचर उद्योगमा आगलागी हुँदा सो रकम बराबरको क्षति भएको वडाका इन्स्पेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए ।
आगलागीबाट उद्योगमा रहेको प्लाइउड, पलङ, टिभी सोकेस, कटर मेसिन, डायल मेसिनलगायत नगद ७० हजार रुपैयाँ जलेर नष्ट भएको उनले जानकारी दिए । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ । बुधवार राती करिब ९ बजे लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको जनाइएको छ । उद्योगमा आगलागी हुँदा नगरमा केही बेर विद्युत् सेवा समेत अवरुद्ध भएको जनाइएको छ ।