सिरियाली सङ्कटमा साम्राज्यवाद

alt
  • मंसिर २६, २०७६
  • १७० पटक पढिएको
  • राजेन्द्र किराती

ऐतिहासिक पृष्ठभूमि
सन् १९१८ तिर अटोमन साम्राज्यको पतन भयो । यसभन्दा अघि मध्यपूर्वमा बेलायत र फ्रान्सको पकड थियो । त्यसबेला अमेरिका प्रति मध्यपूर्वीहरूको सकारात्मक धारणा थियो । यसैबीच सन् १९२८ मा बेलायत, अमेरिका र फ्रान्सबीच पेट्रोलियम सम्झौता भयो । यसलाई इतिहासमा ‘रेड लाइन एग्रीमेन्ट’ भनिन्छ । त्यसैगरी १९४४ मा एङ्गलो–अमेरिकन सम्झौता गरियो । जसले मध्यपूर्वको तेल व्यापारमा एकाधिकार कायम गर्ने लक्ष्य राखेको देखिन्छ । यता दोस्रो विश्वयुद्ध समाप्तिसँगै तात्कालीन सोभियत सङ्घ र अमेरिकाबीच शीतयुद्धको अवस्था सृजना भयो । यही विन्दुबाट अमेरिकाले मध्यपूर्वलाई रणनैतिक महŒव दिन थाल्यो । उसले पहल, पकड र प्रभाव विस्तारको नीति लियो । मध्यपूर्व एकाएक साम्राज्यवादी उद्देश्य प्राप्तिको रणनैतिक केन्द्र बन्न पुग्यो ।

वस्तुतः मध्यपूर्वमा अमेरिकी प्रभाव विस्तार भन्नाले विश्व महाशक्ति बन्ने रणनीति नै हो । प्रथमतः उसले सोभियत सङ्घको बढ्दो प्रभावलाई कम गर्नु थियो । त्यतिबेला थुप्रै अरब मुलुकहरू सोभियत सङ्घबाट प्रभावित थिए । अमेरिकाले बेलायतको सहयोगमार्फत मुस्लीम मुलुकहरूको घेरावन्दीबाट इजरायललाई बचाउँदै मध्यपूर्वमा तेल व्यापारमा वर्चस्व जमाउन थाल्यो । मूलतः अमेरिकी स्वार्थ भनेको तेल कारोबारमा नियन्त्रण गर्नु थियो । तर, यता सन् २००१ सेप्टेम्बर ११ को ट्वीन टावर आक्रमण पछि भने यसमा आतङ्कवाद विरोधी मुद्दा पनि थपियो । खासगरेर अमेरिकाले अरब इजरायल द्वन्दको स्थायी समाधन र आम विनाशकारी अस्त्र प्रशारणलाई रोक्ने बहानामा प्रभुत्व कायम गर्दै आएको देखिन्छ ।

राजनैतिक इतिहास
सन् १९४६ मा सिरिया फ्रान्सको उपनिवेशबाट स्वतन्त्र भयो । त्यसबेला अरब मुलुकहरूमा साम्राज्यवाद विरोधी र राष्ट्रवादी भावना उत्कर्षमा पुग्यो । यही मेसोमा १९४७ मा सिरियामा अरब समाजवादी वाथ पार्टीको स्थापना गरियो । अरब मुलुकहरूमा क्षेत्रीय शाखाहरू विस्तार गरिए । त्यसमध्ये सिरिया र इराकका शाखाहरू प्रभावकारी थिए । यो अरब राष्ट्रवाद, बृहत् अरबवाद, अरब समाजवाद र एकीकृत अरब विश्वको अवधारणामा आधारित थियो । यो साम्राज्यवाद र जियोनवाद विरोधी विचार थियो । यसले अरब विश्वलाई एउटै एकीकृत राज्य बनाउने दृष्टिकोण राख्दथ्यो । अर्थात् एकता, स्वतन्त्रता र समाजवाद यसको आधारभूत नीति थियो । अरबीहरू बिचको एकता र स्वतन्त्रतावाट मात्रै गैर–अरबी नियन्त्रण र हस्तक्षेपलाई परास्त गर्न सकिन्छ भन्ने विश्वास राख्दथ्यो । यद्यपि, यसले वर्गसङ्घर्षलाई मान्दैन, तर, मुख्य उद्योगहरू राष्ट्रियकरण, मजदूरहरूको युनियनीकरण र भूमिसुधारको वकालत गर्दछ । यो प्रगतिशील र क्रान्तिकारी सरकारमार्फत एकीकृत अरब राष्ट्रहरूको केन्द्रीकृत विकास गर्ने अरबेली राष्ट्रवादी प्रगतिशील विचार थियो ।

वस्तुतः सिरिया स्वतन्त्र भएदेखि नै विभिन्न सैन्य ‘कु’को अभ्यास भएको देखिन्छ । यसै अन्तर्गत सन् १९६३ मा वाथ पार्टीले सैन्य कु ग¥यो । तर, वाथ पार्टीमा पनि एकता भएन । परम्परागत र ¥याडीकल बिच अन्तरविरोध रह्यो । १९६६ मा अर्को कु भयो । यसले पनि समस्या समाधन गर्न सकेन । यसै बिच हफेज अल असदले १९७० मा तेस्रो कु गरी शक्ति हत्याए । उनी १९७१ मा राष्ट्रपतिमा निर्वाचित भए । उनी वर्तमान राष्ट्रपति वसर अल असदका बाबु थिए । सत्ता कब्जा गरेपछि उनले नयाँ संविधान जारी गरे, जसको मुश्स्ीम ब्रदरहुडले सशस्त्र रूपमै प्रतिकार ग¥यो । २००० मा राष्ट्रपति हफेजको मृत्यु भयो, जसले झण्डै तिन दशक शासन गरे । त्यसपछि छोरा वसर अल असदले शासन सत्ता सम्हाले । त्यसबेला अरब सोसलिस्ट वाथ पार्टी शक्तिशाली भइसकेको थियो । उनले सुधारका वाचाहरू गरे तर विद्रोहीहरूलाई चित्तब सकेनन् । सबै जिहादीहरू उनको विरोधमा उत्रिए, जसले सिरियामा चरम गृहयुद्धको अवस्था सृजना भयो ।

सिरिया सङ्कट
सिरिया भूमध्यसागरीय क्षेत्रको महŒवपूर्ण तेल उत्पादक मुलुक हो । यहाँ पनि अरब वशन्त विद्रोहको ज्वरभाटासँगै राजनैतिक सङ्कट प्रारम्भ भयो । अरब आन्दोलनको लहरले इजिप्ट, ट्युनिशीया, लिवीया र यमनलगायतका मुलुकहरूमा आन्दोलन भए । २००६ देखि २०११ सम्म सिरियामा इतिहासमै सबैभन्दा ठूलो खडेरी प¥यो । गाउँमा सुख्खाले अन्न फलेन । परिणामतः सबै नागरिकहरू शहरतिर लागे, । जसले गृहयुद्धलाई मलजल पु¥यायो । यस्तै प्रतिकुलताहरूका बिच सन् २०११ मार्चबाट राजधानी दमास्कस र दोस्रो ठूलो शहर एलेप्पोबाट विद्रोह शुरु भयो । शुरुमा शान्तिपूर्ण रहेको विद्रोह २०१२ बाट एकाएक हिंसात्मक बन्नपुग्यो । यसमा देशी तथा विदेशी दर्जनौं मुलुक वा लडाकू सङ्गठनहरू संलग्न भए । आठ वर्ष लामो गृहयुद्धमा सरकारी र विद्रोही दुवै पक्षहरूले गैरसैनिक नागरिकहरू माथि अन्धाधुन्ध स्थल तथा हवाइ आक्रमण गरेको आरोप पनि लगाइएको छ । यसमा मानवअधिकार उलङ्घन गर्नुको साथै क्लोरिन र सरिन जस्ता नर्भ ग्याँसलगायतका रसायनको समेत प्रयोग गरेको आरोप छ । युद्धको नियम विपरित क्लष्टर बमको समेत प्रयोग गरिएको थियो । अहिले मानवता विरोधी युद्ध भन्दै यसको आलोचना पनि हुँदै आएको छ ।

संलग्नताः
सिरियाली गृहयुद्धमा बहुपक्षीय रणनैतिक स्वार्थ टकराएको देखिन्छ । यसमा अमेरिका, रसिया, टर्की र इरानलगायतका मुलुकहरूको अन्तरविरोध प्रष्टैसँग देख्न सकिन्छ । थुप्रै देशी तथा विदेशी लडाकू समूहहरू पनि सहभागी भए । एकातिर वसर अल असदको सिरियाली अरब गणतन्त्र सरकार रहेको छ । उसलाई सिरीयाली सशस्त्र सेना, राष्ट्रिय सुरक्षा सेना, सरकार पक्षधर सशस्त्र समूह, लेवनानी हेजबुल्लाह र उत्तरी यमनको हुथी विद्रोहीहरूको साथ रहेको छ । यता रसिया र इरान सरकारको पनि पूर्ण सहयोग थियो । आइएस र अलकायदा लडाकूहरूलाई पनि असदले रणनैतिक रूपमा उपयोग गरेको पश्चिमाहरूको आरोप छ । इरानले असदलाई समर्थन गरेपछि सिङ्गो अरब मुलुकहरू उसको विरुद्धमा लागे । यसले इरान प्रतिको नकरात्मक दृष्टिकोणलाई इङ्गित गर्दछ ।

यसैगरी विद्रोही अन्तरिम सरकारको पक्षमा, स्वतन्त्र सिरियाली सेना, सिरियाली प्रजातान्त्रिक सेना, मुक्तिको लागि राष्ट्रिय मोर्चा, अहतार अल साम, दक्षिणी मोर्चा, टर्की, अमेरिका, बेलायत, फ्रान्स, साउदी अरबीया, संयुक्त अरब इमिरेटस्, कतार, जोर्डन, इजरायल, नेदरल्याण्डलगायतका मुलुकहरूको सहयोग थियो । विद्रोही पक्षलाई चेचन र उत्तरी ककेशसका स्वयंसेवक लडाकु समूहहरूको पनि साथ थियो । यसमा झण्डै दश हजार रसियाली मुस्लीम लडाकूहरू सहभागी थिए । यसबाट रसिया सशङ्कित भयो । परिणाम स्वरूप उसले असदको पक्षमा खुलेरै सहयोग गर्न थाल्यो । यसका अतिरिक्त आइएस र अलकायदा लडाकुहरू पनि छट्टै किसिमले सिरियाली गृहयुद्धमा सामेल भए । तर, उनीहरूले सरकारी र विद्रोही दुवै पक्षलाई निशाना बनाए । उनीहरूको १८ वटा मुस्लीम मुलुकहरूमा प्रभाव रहेको दाबी थियो । त्यसमा पनि इराक र सिरियामा उनीहरूको प्रभाव अत्यधिक रहेका ेछ । यसको मुख्य उद्देश्य भनेको एकछत्र मुस्लीम विश्व बनाउनु हो । यिनीहरूसँग ३० हजार भन्दा बढी लडाकूहरू थिए । यद्यपि २०१७ सम्म आउँदा आइएसले अधिकांश पकड क्षेत्र गुमाइसकेको छ ।

सैन्य शक्ति
सिरिया गृहयुद्धमा ठूलो सङ्ख्यामा सेना तथा लडाकूहरू संलग्न भए । यसमा सरकारी सेनातर्फ सिरियाली सशस्त्र सेना १ लाख ४२ हजार, सुरक्षा निर्देशनालय अन्तर्गत ८ हजार, राष्ट्रिय सुरक्षा सेना ८० हजार, वाथ ब्रिगेड ८ हजार, हेजबुल्लाह ८ हजार रसियाली सेना ५ हजार र इरानी सेना ५ हजार सहभागी थिए । यता विद्रोहीतर्फ भने स्वतन्त्र सिरियाली सेना ३२ हजार, सिरियाली प्रजातान्त्रिक सेना ७५ हजार, इस्लामिक मोर्चा ७० हजार, अन्य जिहादी मोर्चा १३ हजार, टर्कीस सेना ८ हजार, अहर अल साम २० हजार र तहरीर अल साम ३० हजार सहभागी थिए । विद्रोही पक्षलाई सहयोग गर्न दुई हजार भन्दा वढी अमेरिकी सेना तथा सैन्य विशेषज्ञहरू सिरियामा खटिएका थिए । तालिम र युद्ध प्रविधिहरू सबै अमेरिकी सैन्य विज्ञहरूमा निर्भर थियो । यो गृहयुद्धमा आइएस १४ हजार थिए भन २ हजार ज्यादा अलकायदा लडाकूहरू समेत संलग्न थिए ।

शान्ति वार्ता
सिरियाली सङ्कट समाधनको लागि थुप्रै शान्तिवार्ताका प्रयासहरू पनि गरिए । यसमा अरब लिग, राष्ट्रसङ्घ, रसिया र पश्चिमा शक्तिहरूले शान्तिवार्ताको पहल गरे । यसै सिलसिला अन्तर्गत सन् २०१२ मा जेनेभामा पहिलो शान्तिवार्ता भयो । तर, वार्ता उपलब्धी पूर्ण हुनसकेन । त्यसैगरी २०१७ मा अर्को वार्ता भयो । यता २०१८ मा टर्कीमा पुनः वार्ता भयो । उता कालो सागरमा पनि अन्तिम वार्ता भयो । तर, कुनै वार्ता पनि उपलब्धीपूर्ण भएनन् । अर्थात् हरेक वार्ताहरू औपचारिकता, अडान र हठको शिकार हुनपुगे । वस्तुतः अझै पनि सिरियाली गृहयुद्धको औपचारिक वा विधिवत अन्त्य भएको छैन । सरकारी सेनाले अधिकांश भूभाग कब्जा र पुनः कब्जा गर्न सफल भएपछि विद्रोहीहरू रुक्षात्मक अवस्थामा फर्किएका छन् । विदेशी शक्तिहरूको पनि जाँगर मरेको देखिन्छ । यद्यपि अझै पनि छिट्फुट युद्ध भइरहेको नै छ ।

जनधनको क्षति
सिरियाली द्वन्दलाई २१औं शदीमा भएको कङ्गो पछिको दोस्रो घातक गृहयुद्धको रूपमा लिइन्छ । पछिल्लो तथ्याङ्क अनुसार सिरियाको जनसङ्ख्या झण्डै दुई करोड रहेको छ । यसमा पचास प्रतिशत भन्दा बढी अरबीहरू छन् भने त्यसमा ८७ प्रतिशत मुस्लीम साथै ७४ प्रतिशत सुन्नी बाहुल्यता रहेको छ । यस युद्धमा ५ लाख भन्दा बढी नागरिकहरूको ज्यान गयो, जसमा झण्डै आधा सर्वसारधरणहरू थिए । १० लाख ज्यादा घाइते भए । ५० लाख बढी शरणार्थी भए भने ६० लाख बढी आन्तरिक रूपमा विस्थापित भए । ७० भन्दा बढी पत्रकारहरूको हत्या गरिनुको साथै ८० भन्दा ज्यादालाई अपहरण गरियो । भौतिक संरचनाहरू पूर्णरूपमा ध्वस्त गरिए । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू प्रायः सबै खण्डहर हुनपुगे । अर्थात् ४ खरब डलर भन्दा बढी मूल्य बराबरको भौतिक संरचनाहरू ध्वस्त भए । यी संरचना पुनर्निर्माणको लागि इरान र रसियालगायतका मुलुकहरूले सहयोग आह्वान गरेका छन् । तर, यता अमेरिकाले भने सिरियाली सहयोगको विरोध गरिरहेको छ । उसको सिरियालाई अझै एक्ल्याएर तहसनहस गराउने नीति देखिन्छ ।

साम्राज्यवादी स्वार्थ
सिरिया गुहयुद्धको रूप पक्ष हेर्दा वसर अल असद र विद्रोही पक्षबीचको भिडन्त जस्तो देखिन्छ । तर, सार पक्ष त्यस्तो होइन । यसमा अमेरिकी साम्राज्यवाद र रसिया, चीन र इरानलगायतका मुलुकहरूको आआफ्नै स्वार्थ टकराइरहेको छ । विशेष गरेर सिरियाली वाथ पार्टी साम्राज्यवाद विरोधी अरब राष्ट्रवादी पार्टी हो । यसकारण अमेरिकी नजरमा असदको शासन त्ता प्रतिकुल थियो । त्यसैले उसले रसिया, चीन, इरान र सिरियालाई एउटै फुर्लुङ्मा कोचेर रणनैतिक दृष्टिकोण निर्माण गरिरहेको देखिन्छ । वास्तवमा असदको पतनसँगै अमेरिकाले मध्यपूर्वमा राजनैतिक पकड कायम गर्न खोजिरहेको स्पष्टै छ ।

यता रसियाको पनि आफ्नै स्वार्थ रहेको छ । शीतयुद्ध देखि नै सिरिया र तात्कालीन सोभियत सङ्घबीच राम्रो कुटनैतिक सम्बन्ध थियो । हजारौं सिरियाली सैनिक अधिकारीहरू र थुप्र्रै शिक्षित व्यवसायीहरूले रसियामा प्रशिक्षण र अध्ययन गरेका थिए । १९८० मा मित्रता र सहयोगको बीस वर्षे द्विपक्षीय सन्धि पनि गरियो । उसले राष्ट्रसङ्घीय संलग्नताको पनि विरोध गर्दै आएको थियो । राष्ट्रपति असदले विदेशी स्वार्थ, एजेण्डा र उक्साहटमा विद्रोहीहरूले आतङ्कवादी गतिविधि गरिरहेको आरोप लगाए । यता साउदी अरबीया, टर्की, यूएई, इजरायल लगायतका मुलुकहरूको पनि आआफ्नै स्वार्थ थियो । उनीहरूको इरानसँगको अन्तरविरोध उत्कर्षमा रहेको छ । यसकारण पनि सिरियाली गृहयुद्ध निकै महङ्गो हुन पुग्यो ।

निष्कर्ष
वस्तुतः सिरियाली वाथ पार्टी साम्राज्यवाद विरोधी पार्टी हो । यसकारण विगतदेखि नै यसको अमेरिकासँग चरम अन्तरविरोध थियो । त्यसैले सिरियाली सङ्कटको रूप पक्ष भनेको वसर अल असदको अरब राष्ट्रवादी सिद्धान्तमा आधारित शासन प्रणाली र त्यस विरुद्धकोे विद्रोह हो । राष्ट्रपति असदको राजीनामा हो । उनकोे बाबुले झण्डै पाँच दशक अघि स्थापना गरेको राजकीय सत्ताको अन्त्य हो । तर, यसको सार पक्ष भने अमेरिकी साम्राज्यवादले आफ्नो पकड र प्रभाव कायम गर्ने पछिल्लो कडी हो सिरियाली सङ्कट । उसले यस क्षेत्रमा रसिया, चीन र इरानको बढ्दो रणनैतिक प्रभावलाई कमजोर बनाउनु जरुरी थियो । यी मुलुकहरूको राजनैतिक कडी असद सरकारसँग पनि जोडिएको छ । उसले न्वारानको बल लगाएर सबै हत्कण्डाहरू मच्चायो, यद्यपि सफल भएन । तर, यो घटनाले एकछत्र विश्व हैकम निस्प्रभावी बन्दै गएको सङ्केत गर्दछ । अर्थात् सिरियामा अभिव्यक्त शक्ति सन्तुलनले चीन र रसिया समानान्तर विश्व शक्तिको रूपमा उदाइरहेको प्रष्ट हुन्छ । यस घटनाले एक ध्रूवीय विश्वव्यवस्थालाई गम्भीर चुनौती मात्र दिएको छैन अमेरिकालाई एकाएक रक्षात्मक स्थितितर्फ धकेली दिएको छ ।

बराह ज्वेलरीमा बालबा ...

धरान / धरानको बराह ग्रुपले धरानमा बालबालिका लागि सैलुन ...

पाँचौ पानवारी भलिबलक ...

धरान /  पानवारी भलिबल कपको पाँचौ संस्करणको उपाधी ब ...

पार्टी नेतृत्व नसच्च ...

विराटनगर / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुुजा ...

कवि राजकुमार कार्कीक ...

इटहरी / इटहरीमा बरिष्ठ कवि तथा पत्रकार राजकुमार का ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved