पथरीशनिश्चरे / नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले वर्तमान सरकारले ठोस निर्णय निकाल्नुको सट्टा आश्वासन मात्र बाँडेको आरोप लगाएका छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिकाको पथरी बजारमा जीपी कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको ‘नेपालको संविधान कार्यान्वयनमा नेपाली काङ्ग्रेसको भूमिका’ विषयक खुल्ला सभामा बोल्दै कोइरालाले सरकारले ठोस निर्णय नल्याई हावादारीरूपमा पानीजहाज र रेलको कुरा ल्याएको भन्दै खेतीयोग्य जमिन र सिंचाइको योजना बिर्सिएको बताए । ‘९ करोड जनतालाई धान्ने १७ हजार हेक्टर जमिन बाँझो छ । रेल र पानीजहाजको कुरा सुहाएन’– उनले टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै काङ्ग्रेस केन्द्रीय सदस्य तथा सांसद् डा. मीनेन्द्र रिजादले अब काङ्ग्रेसले नयाँ जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएको बताए । रिजालले गिरिजा बाबुले देखाएको बाटो सही भएको भन्दै हिजो जङ्गलमा रहेको माओवादीलाई हिंसाको बाटो छोडी जनतासामु ल्याएकोले विप्लवलाई पनि हिंसाको बाटो छोड्न आग्रह गरेका थिए ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रधानमन्त्रीको स्वास्थ्यका कारण देश अनिर्णयको बन्दी बनेको दाबी गर्दै भरतले नेपालको सीमा मिच्दा पनि यो सरकारले कुनै प्रतिक्रिया नदिएको आरोप लगाए । पथरीशनिश्चरे, कानेपोखरी क्षेत्रमा दोहोरो स्वामित्व, सुकुम्बासी समस्यालाई चुनावी प्रचार बनाएर पूर्व एमालेले जनता झुक्याएको काङ्ग्रेसका स्थानीय नेता डा. सुनिल शर्माको भनाइ थियो । कार्यक्रममा नेकपा र अन्य पार्टी परित्याग गरी २ दर्जन कार्यकर्ता काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् ।