बिर्तामोड/ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडको निर्वाचनका लागि घोषित ‘लोकतान्त्रिक प्यानल’ ले खानेपानी महसुलमा छुट दिन नसकिने बताएको छ । महसुलमा ५० प्रतिशत छुट दिने भनेर प्रगतिशील प्यानलले गलत प्रचार गरेको आरोप लोकतान्त्रिक प्यानलले लगाएको छ ।

बिर्तामोड खानेपानीका संस्थापक अध्यक्ष तथा लोकतान्त्रिक प्यानलका समर्थक टोरूप प्रसाइँले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिन नसकिने बताए । उपभोक्ताको पक्षमा लाग्दा खानेपानी संस्था धरासायी हुनेसमेत प्रसाइँले बताए । साना शहरी खानेपानी तथा सरसफाइ संस्थाका केन्द्रीय अध्यक्षसमेत रहेका प्रसाइँले उपभोक्तालाई महसुल छुट दिने विषयलाई प्रचार नगर्न अनुरोध गरे । त्यस्तै निर्वाचन परिचालन कमिटीका सदस्य सचिव बलराम कार्कीले प्रगतिशील प्यानलले अघि सारेको महसुल छुटको नारा चुनाव जित्नका लागि मात्र भएको बताए । उनले उपभोक्तालाई महसुल छुट दिन नसकिने धारणा राखे ।

यसैगरी मङ्सिर २५ गते हुने निर्वाचनका लागि नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले साझा उम्मेद्वार तय गरेका छन् । दुई दलको समीकरणममा निर्माण भएको लोकतान्त्रिक प्यानल शनिबार सार्वजनिक गरिएको छ ।

नेपाली काङ्ग्रेसले यसअघिको समितिमा रहेका व्यक्तिलाई नै उम्मेद्वार बनाएको छ भने राप्रपाले उठाएका उम्मेदवार नयाँ अनुहार हुन् । यसअघिको कार्यसमितिमा काङ्ग्रेसको एकल प्यानलले सम्पूर्ण पदमा विजय हासिल गरेको थियो । यसपटक राप्रपासँग समीकरण गरेर उम्मेदवारी दिएका कारण यो प्यानल बलियो रहेको अनुमान मतदाताको छ ।

लोकतान्त्रिक प्यानलका अध्यक्ष जलकुमार गुरुङ, उपाध्यक्षमा पर्शुराम सिटौला, सचिव मेघराज बास्तोला, कोषाध्यक्ष शारदा रिजाल, सदस्यहरू पारसमणि मैनाली, देबेन्द्र सिटौला, महिला सदस्य सीता काफ्ले, बालादेवी खरेल र माया खड्गी श्रेष्ठ उम्मेद्वार छन् । कोषाध्यक्ष रिजाल र एकजना सदस्य सीता काफ्ले राप्रपाबाट उम्मेदवार बनेका हुन् ।

गुरुङ नेतृत्वको समितिले विधान बमोजिम निर्वाचन गराउन नसकेपछि सर्वदलीय सहमतिमा नेकपाका स्थानीय नेता सिपी कडरियाको नेतृत्वमा निर्वाचन आयोजक कमिटी गठन भएको छ । विधानमा समितिको कार्यकाल तीन वर्ष रहने उल्लेख छ । त्यसको ६ महिनामा निर्वाचन गर्नुपर्ने भए पनि गत साउनमा त्यो समय सकिएपछि कडरियाको नेतृत्वमा सर्वदलीय समिति गठन गरिएको थियो ।

लोकतान्त्रिक प्यानलले बिर्तामोड खानेपानीले बोतल र जारमा पानी बिक्री गर्ने प्रतिबद्धता जनाएको छ । निवर्तमान समितिले २०७२ सालमा निर्वाचित हुँदा समेत यो प्रतिबद्धता जनाएको थियो । तर, समितिको समयावधि सकिँदा समेत त्यो प्रतिबद्धता पूरा भएको छैन । बोतल र जारमा पानी बिक्री गर्नेदेखि खानेपानी बिस्तार गर्ने, ओभरहेड ट्याङकी निर्माण गर्ने, पानीको गुणस्तर वृद्धिमा ध्यान दिने लगायतका ११ बुँदे प्रतिबद्धता लोकतान्त्रिक प्यानलको छ ।

लोकतान्त्रिक प्यानलको अध्यक्षका उम्मेदवार जलकुमार गुरुङले राम्रो गर्दा गर्दै केही व्यक्तिको उक्साहटमा जिल्ला प्रशासन कार्यालयले उनी नेतृत्वको समितिलाई चुनाव गर्न नदिएको भन्दै गुनासो गरे । उनले केही कमजोरी सबैको हुने भन्दै नियतवश कमजोरी नगरिएको धारणा राखे ।

प्रगतिशील प्यानलले यसअघि नै नेपाल कम्युनिष्ट पार्टीको बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाइँको नेतृत्वमा उम्मेद्वार सार्वजनिक गरिसकेको छ । समितिको उपाध्यक्षमा बुद्धि घिमिरे, सचिवमा जनबहादुर जबेगु र कोषाध्यक्षमा कमल प्रसाद पौडेललाई उम्मेद्वार बनाएको छ । यस्तै सदस्यहरूमा श्रीप्रसाद सिटौला, शङ्करराज ढुङ्गेल र महिला सदस्यमा सीता सापकोटा तथा हिमादेवी प्रसाइँलाई उममेदवार बनाएको छ ।