भण्टाबारी/ कोशी गाउँपालिकाको स्थानीय सरकारले सामूहिक रूपमा विवाह गराइदिने योजनाले खुब चर्चा पायो । गाउँपालिकाको कार्यालयले मङ्सिर ६ गते बसेको कार्यपालिकाको निर्णयअनुसार बिहे गर्न योग्य उमेरका युवायुवतीलाई दरखास्त आह्वान गर्न १० दिने सूचना निकालेपछि स्थानीयदेखि राष्ट्रिय सञ्चार माध्यममा स्थान पायो । तर, कोशी गाउँपालिकाले निकालेको सूचनामा विवाह गर्न युवायुवती इच्छुक देखिएका छैनन् । मङ्सिर १० गतेदेखि १७ गतेसम्म गाउँपालिकाको कार्यालयले दर्खास्त आह्वान गर्ने सूचना गरेकोमा हालसम्म कसैले पनि निवेदन दिएका छैनन् ।

बेहुला बेहुलीको लत्ताकपडा र अधिकतम् ५० जना जन्तीको स्वागत तथा भोजभतेरमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाको कार्यालयले व्यहोर्ने गरी मङ्सिर अन्तिम हप्ता कोशी कटानमा सामूहिक विवाह गराइदिने भनिए पनि हालसम्म कसैले विवाह गर्न निवेदन नदिएको कोशी गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँपालिकाभित्र भएका खासगरी विपन्न समुदायलाई लक्षित गरी सामूहिक विवाह गराउने योजना ल्याइएको कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । उनीहरूलाई नै लक्षित गरी मङ्सिर १७ गतेसम्म आ–आफ्नो वडा कार्यालयमा निवेदन दिन दरखास्त आह्वान गरिए पनि प्रचार–प्रसारको कमी र जाडोका कारण विवाह गर्न चाहने युवायुवती नाम दर्ता गराउन नसकेको उनको भनाइ छ ।

अध्यक्ष अन्सारीका अनुसार बिहे गर्न योग्य उमेरका युवायुवतीले वडा कार्यालयमार्फत् नाम दर्ता गराएमा उनीहरूको अभिभावकको मञ्जुरी लिई विवाह गराइदिने योजना छ । आवेदन दिएका जोडीहरूको उनीहरूको आ–आफ्नो परम्पराअनुसार नै विवाह गराइनेछ । त्यसको लागि कोशी गाउँपालिकाको कार्यालयले १५ लाख रुपैयाँ बजेट छुट्याएको छ । गाउँपालिका अध्यक्ष अन्सारी भन्छन्, ‘सामूहिक विवाह गराउने योजना गाउँपालिकाभित्र रहेका अति गरिब तथा विपन्न समुदायका छोराछोरीको विवाह गर्न गाह्रो नहोस् भनेर ल्याइएको हो ।’

पछिल्लो समय समाजमा विकृतिको रूपमा रहेको दाइजो न्यूनीकरण गर्न र ऋण काढेर विपन्न समुदायले छोराछोरीको विवाह गर्ने परिपाटी अन्त्य गर्न योजना लाभदायक हुने उनको कथन छ । ‘समाजमा दाइजो नलिई विवाह गर्ने कमै छन्’ अन्सारीले भने, ‘हुनेले दिन्छन् र नहुनेले के गर्ने ? बिहे त गर्नै प¥यो, अन्तिममा ऋण गरेर भए पनि दाइजो दिन्छन् ।’ ऋण खोजेर बिहे गर्दा विपन्न परिवारमाथि आर्थिक बोझ थपिन्छ । सामूहिक विवाह योजना समाजबाट त्यस्ता विकृति अन्त्य गर्ने शुरुवात भएको अन्सारीको विश्वास छ ।

गाउँपालिकाको कार्यालयले सामूहिक विवाह गरिदिने गरी सूचना निकाले पनि विवाह गर्न जोडी इच्छुक नदेखिएपछि मिति सार्ने तयारी गरिएको छ । मङ्सिर १७ गतेसम्म आवेदन दिएको भए गाउँपालिकाको कार्यालयले लगनको दिन पारेर मङ्सिर अन्तिमसम्म विवाह गरिदिने योजना बनाएको थियो । तराई मधेस क्षेत्रमा जाडो बढेको र आवश्यकताअनुसार प्रचारसमेत हुन नसकेका कारण विवाह गर्न तत्काल जोडी तयार नभएको अन्सारी बताउँछन् । उनले भने, ‘मधेसमा अधिकांश विवाह रातिको समयमा हुने गरेका छन् ।

रातको समयमा विवाह गर्दा मङ्सिर, पुस र माघ महिनामा जाडो बढ्ने भएकोले फागुन वा वैशाखसम्म विवाह गराउने गरी नयाँ सूचना निकाल्ने तयारी गरेका छौँ ।’ गाउँपालिकाभित्र स्थायी बसोबास गर्नेले मात्र उक्त योजनामा सहभागिता जनाउन पाउने प्रावधान राखिएको छ । कोशी गाउँपालिकाले एक वर्षमा १० देखि १५ जोडीको विवाह गराइदिने लक्ष्य लिएको छ ।