बिर्तामोड । उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले सभामुख बन्न आफु योग्य रहेको बताएकी छन् । पार्टीका नेताहरुले आफ्नो सहभागिता बिना सभामुखको चयन नगर्ने समेत उपसभामुख तुम्बाहाम्फेले बताइन् ।

बिगतमा उपसभामुख नै सभामुख भएको नजिर छ । उनले भनिन्–‘प्रतिनिधिसभामा सभामुख बन्न आफु क्षमता र कार्यदक्षताले योग्य छु । झापाको विर्तामोडमा नेपाल पत्रकार महासंघले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा उपसभामुख तुम्वाहाम्फेले सभामुखमा स्वभाविक रुपले आफ्नो दाबी रहेको बताइन् । मन्त्री बन्न प्रस्ताव आएको र आफुले अस्वीकार गरेको भन्ने समाचार आउने गरेको भन्दै ती हल्ला मात्र भएको दाबी गर्दै उपसभामुख तुम्वाहाम्फेले भनिन्, ‘सत्तारुढ पार्टीका नेताहरुले मलाई केही पनि भन्नु भएको छैन ।’

संसदको नियमित हिउँदे अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाले सभामुख पाउने जानकारी उनले दिइन् । ‘पहिले हिउँदे अधिवेशन पुस दोस्रो साता सुरु हुन्थ्यो अहिले चाँडै गरौं भनेर प्रधानमन्त्रीलाई भेटेर भनेको छु’ उपसभामुख तुम्वाहाम्फेले भनिन्, ‘संसदमा पास भएका ५ वटा विधेयक सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिमा पेश गर्न बाँकी छ । संविधानले राष्ट्रपति नहुँदा उपराष्ट्रपतिले राष्ट्रपतिले गर्ने काम गर्ने भनेर लेखे जसरी उपसभामुखका हकमा नलेखेकाले अहिले समस्या भएको छ ।’

सभामुख चयनमा प्रधानमन्त्रीले नियमित अधिवेशनबाट अगाडि बढ्ने भनेकाले आफुले राजीनामा नदिएको तुम्बाहाम्फले जानकारी दिइन् । उहाँले भनिन्, ‘पहिले म तत्कालीन एमालेबाट निर्वाचित भएकी हुँ । संसदीय दलले सभामुख सत्तारुढ दलले लिने भन्ने निर्णय गरेपछि मैले राजीनामा दिन्छु । मेरो सहभागिता विना नेताहरुले निर्णय गर्नुहुन्न भन्नेमा ढुक्क छु ।’

झापामा बाल्यकाल विताएको जानकारी दिंदै १७–१८ वर्षको उमेरमा झापा क्षेत्र नम्वर २ का सांसद एवम् अन्तर्राष्ट्रिय सम्वन्ध समिति सभापति पवित्रा निरौला खरेल र आफु सँगै जेल बसेको उनले बताइन् । उनले भनिन्– ‘झापामा त्यसबेला समाज परिवर्तनका लागि देखेको सपना अहिले साकार पार्ने स्थानमा पुगेका छौं ।’