धरान/ धरान उपमहानगरको मतगणना जारी रहँदा बाम विरासत टुट्ने सङ्केत देखिएको छ ।

११ वटा वडाको मतगणना सम्पन्न हुँदा नेपाली काङ्ग्रेसले जितको ढोका खोल्ने छनक आएको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा बामले जितेका वडाहरूमा पनि नेपाली काङ्ग्रेसले आफ्नो वर्चश्व कायम गर्न सफल भएको छ । हालसम्मको नतिजामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धरान–२०, धरान–१७ र धरान–१५ मा मात्रै झिनो मतान्तरले जितेको अवस्था छ । धरान–१८, १९, १६, १४, १३, १२, ११, १०, ९ नम्बर वडामा काङ्ग्रेसले नै अग्रता कायम गरेको छ । यी वडामध्ये २०७४ को निर्वाचनमा १८ र १४ मा मात्रै काङ्ग्रेसले जित हासिल गरेको थियो ।

११ वटा वडाको मतगणना सम्पन्न भइसक्दा नेपाली काङ्ग्रेस १ हजार ५ सय ५ मतले अगाडि छ । नेपाली काङ्ग्रेसले १७ हजार ४ सय ९१ मत प्राप्त गर्दा नेकपाले १५ हजार ९ सय ८६ प्राप्त गरेको छ । मध्यरातसम्मको मतगणनामा माथिको मतान्तरले जितेको छ । ८ नम्बर वडाको मतगणना जारी रहेको थियो । नेकपाले धरान–२० मा ९ सय ६७ मत प्राप्त गर्दा काङ्ग्रेसले ७ सय ३४ मत प्राप्त गरेको थियो । जहाँ मतान्तर २ सय ३३ थियो । धरान–१९ मा काङ्ग्रेसले ८ सय ७९ मत प्राप्त गर्दा नेकपाले ८ सय १३ मत प्राप्त गरेको थियो ।

त्यस्तै धरान–१८ मा काङ्ग्रेसले ६ सय ७९ मत प्राप्त गर्दा नेकपाले ५ सय २९ मत प्राप्त गरेको थियो । धरान–१७ मा नेकपाले २ हजार २ सय ६५ मत प्राप्त गर्दा काङ्ग्रेसले २ हजार २ सय २५ मत प्राप्त गरेको थियो । धरान–१६ मा काङ्ग्रेसले २ हजार ३ सय ४१ मत प्राप्त गरेको थियो । जहाँ नेकपाले १ हजार ८ सय ६० मत मात्रै ल्याएको थियो । धरान–१५ मा नेकपाले ३ हजार ३ सय ४७ मत प्राप्त गर्दा काङ्ग्रेसले ३ हजार ७९ मत प्राप्त गरेको थियो । धरान–१४ मा काङ्ग्रेसले १ हजार ५७ मत प्राप्त गर्दा नेकपाले ७ सय ३६ मत प्राप्त गरेको थियो । धरान–१३ मा काङ्ग्रेसले १ हजार ६ सय १६ मत प्राप्त गर्दा नेकपाले १ हजार ५ सय ७१ मत ल्याएको छ । धरान–१२ मा काङ्ग्रेसले ८ सय ३३ मत ल्याउँदा नेकपाले ६ सय ३ मत मात्रै प्राप्त गरेको छ ।

त्यस्तै धरान–११ मा काङ्ग्रेसले २ हजार ३ सय ८५ मत प्राप्त गर्दा नेकपाले २ हजार ५८ मत प्राप्त गरेको छ । धरान–१० मा काङ्ग्रेसले ८ सय ३० मत ल्याउँदा नेकपाले ६ सय ४० मत ल्याएको छ । धरान–९ मा काङ्ग्रसले ८ सय ३३ मत ल्याउँदा नेकपाले ५ सय ९७ मत ल्याएको छ । अन्य वडाहरूमा पनि नेपाली काङ्ग्रेसले अग्रता कायमै राख्ने दाबी गरेको छ । तर, धरान–३, ४, ६, ७ र ८ नम्बर वडामा नेकपाले यसअघि वर्चश्व कायम गरेको थियो । यता काङ्ग्रेसले १, २ र ५ नम्बर वडामा जित कायम गरेको थियो ।