धरान । शनिबार सम्पन्न प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसक्रममा हालसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ११ स्थानमा विजय हासिल गरेको छ ।
त्यस्तै काङ्ग्रेसले एक स्थानमा, समाजवादी पार्टीले १ स्थानमा र राष्ट्रिय जनता पार्टी (राजपा) ले एक स्थानमा विजयी हासिल गरेका छन् । नेकपाले सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्ष पदमा धर्मे बुढाथोकी विजयी बनेका छन् । उनले ७९२ मत प्राप्त गर्दै विजयी बने । बुढाथोकीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गरे ।
कूल एक हजार ८३९ मतदाता रहेकामा एक हजार १२४ मत खसेको थियो । त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा सम्पन्न वडाध्यक्ष पदमा पनि नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी बनेका छन् । उनले ५२८ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसका दिपबहादुर तामाङले ३१० मत प्राप्त गरे । कूल एक हजार १९९ मतदातामध्ये ९२४ मतदाताले मतदान गरेका थिए ।
रोल्पाको थबाङ १ को वडाध्यक्ष पदमा नेकपाका उम्मेदवार जनकबहादुर बुढामगरले १ सय ७४ मत प्राप्त गर्दै विजयी बनेका छन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका कमलबहादुर रोका मगरले २६ मत मात्रै प्राप्त गरेका थिए । त्यहाँ २ सय ९ मत मात्रै खसेको थियो । लमजुङको सुन्दरबजार नगरपालिका–२ को वडाध्यक्ष पदमा पनि नेकपाका नविनकुमार श्रेष्ठ विजयी बनेका छन् ।
उनले ९९३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाए । त्यस्तै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षमा नेकपाका केदार आचार्य विजयी बनेका छन् ।
त्यस्तै काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को वडाध्यक्षमा नेकपाका शिवभक्ति बलामी निर्वाचित भए । त्यस्तै धुलिखेल नगरपालिका–२ मा नेकपाका उम्मेदवार देव कोइरालाले ८६७ मत प्राप्त गरेर विजयी भएका छन् । उनको निकतम प्रतिद्वन्द्वी कांग्रेसका दणबहादुर खत्रीले ५८२ मत पाए ।
खोटाङ्गको साकेला गाउँपालिका वडा नम्बर–३ खिदिमामा भएको उपनिर्वाचनका नेकपाकी उम्मेद्वार शिवकला राई विजयी भएकी छिन् । उनले ३९१ मत प्राप्त गरेकी छिन् । प्रतिदन्द्धी कांग्रेसका उम्मेद्वार शुक्र बहादुर तामाङले ३७४ मत प्राप्त गरेका छन् । समाजवादी पार्टीले १२ ल्याउदा राप्रपाले खातासम्म खोलेन ।
बाग्लुङको बडीगाड गाउँपालिका २को वडाध्यक्षमा नेकपाका भालेन्द्र शेरचन विजयी भएका छन् । उनले ७०४ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका डिलबहादुर रानाले ४१२ मत पाएका थिए । भोजपुरको पौवादुम्मा–१ का जीतेन्द्र राईले ६९१ मत ल्याएर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका सम्मरबहादुर कार्कीले २५६ मत पाए । संखुवासभाको खादबारी नगरपालिका–३ मा भरत घिमिरेले ७ सय ९६ मत प्राप्त गर्दै विजयी बनेका छन् । काङ्ग्रेसका उम्मेदवारले ४ सय ६७ मत प्राप्त गरेका थिए ।
समाजवादी एक स्थानमा विजयी
सर्लाहीको हरिपूर्वा नगरपालिका १ को वडाध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन् । उनले ३४७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत पाएका छन् । १ हजार ३५६ मतदाता रहेको यो वडामा १ हजार ९३ मत खसेको थियो ।
काङ्ग्रेस एक स्थानमा विजयी
बैतडीको सुर्नया गाउँपालिका १मा नेपाली काङ्ग्रेसका उम्मेदवार गजेन्द्र चन्द विजयी भएका छन् । उनले २१९ मत पाए भने निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवारले २१५ मत पाए ।
राजपा एक स्थानमा विजयी
महाेत्तरीको मटिहानी नगरपालिका–६ नम्बर वडाध्यक्ष पदमा राजपाका रामबाबु नायक झिनो मतले विजयी बनेका छन् । उनले ३७५ मत प्राप्त गर्दै विजयी बने । नेकपाका मोहम्मद जाकिर अन्सारीले ३५५ मत प्राप्त गरेका थिए ।