धरान । धरानमा रिक्त रहेको मेयर तथा वडाध्यक्ष पदका लागि जारी निर्वाचनमा करिब ५९ प्रतिशत मत खसेको छ ।

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार ५९ प्रतिशत मत खसेको हो । धरानमा ९२ हजार ८ सय ५३ मतदाता रहेका थिए । जसमध्ये ५४ हजार ९ सय ५१ मत खसेको बताइएको छ । २०७४ साल असार १४ गतेको निर्वाचनमा ६७ दशलमव ८६ प्रतिशत मत खसेको थियो । त्यसबेला ७९ हजार २ सय ९० मतदाता रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो । यसपटक १३ हजार भन्दा बढी मतदाता बढेका थिए । धरानको ७ नम्बर वडामा सबैभन्दा थोरै २ हजार २५ मतदाता रहेका थिए । जसमा वडाध्यक्ष पदका लागि पनि निर्वाचन भएको थियो ।

७ नम्बर वडामा नेकपाबाट जीवनराज सुवेदी, काङ्ग्रेस सुवर्णमोहन पलिखे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान मञ्च नेपालबाट नीता राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई चुनाव चिन्ह) दिनेश शाक्य अध्यक्ष पदका लागि भिडन्तमा छन् । १२ दलसहित ११ स्वतन्त्रले मेयरका लागि स्पर्धा गरिरहेका छन् । जसमा नेपाली काङ्ग्रेसका तिलक राई र नेकपाका प्रकाश राईबीच भिडन्त हुने अनुमान गरिएको छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा पनि नेकपा र काङ्ग्रेसबीच नै भिडन्त भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अजय मिश्रका अनुसार ८ बजे सर्वपक्षीय छलफलपछि मत गणनाको विषयमा टुंगो लाग्ने छ । रातको ११ बजेबाट मतगणना शुरु हुने अनुमान गरिएको छ । सुब्बाको २०७५ साउन १ गते निधन भएपछि मेयर पद रिक्त रहेको थियो भने ७ नम्बर वडाका वडाध्यक्ष भुवन मोक्तानको निधन भएपछि उक्त पद पनि खाली रहेको थियो ।