इटहरी । अझै पनि अन्तरजातीय विवाहलाई समाजले स्वीकार गर्न गाह्रै मान्छ । तर नयाँ पुस्ता माझ अन्तरजातीय विवाह धुमधामसँग गर्ने क्रम बढ्दै छ ।
इटहरीका दुई युवा सामाजिक अभियन्ता मीरा रेग्मी र उमेश सुन्चेउरीले परम्परागत रूपमा अन्तरजातीय विवाह गरेका छन् । बाहुनकी छोरी र विश्वकर्माकी छोरीबीच मागेरै झ्याइँ झ्याइँ विवाह भयो । एक्काइसौँ शताब्दीमा रुढीवादी कुसंस्कार अन्त्य गर्न सफल भएको भन्दै सबैले प्रशंसा गर्न थालेपछि घरपरिवार पनि सकारात्मक भएसँगै विवाह भएको उनीहरू बताउँछन् । विवाहमा उमेशले भने, ‘मान्छे–मान्छेबीचको विभेद अन्त्य हुनुपर्ने आवाज उठाउँदै अन्तरजातीय विवाह गरेको हुँ ।’

इटहरी–५ आदर्श टोलका उमेश र इटहरी–५ जनता बस्तीकी मीराबीच बिहीबार इटहरीको लायन्स क्लबको भवनमा मागीविवाह भएको हो । नवविवाहित जोडी उमेश र मीरा बाल्यकालबाटै सकारात्मक परिवर्तनका अभियन्ता हुन् । बालक्लबमै हुँदा विभिन्न सामाजिक समस्याहरूविरुद्ध आवाज उठाएका उनीहरूले दुवै परिवारको सहमतिमा मागीविवाह गरेका हुन् । इटहरीमा पत्रकारिता गरेका उमेश र सामाजिक सङ्घ–संस्थामा सक्रिय मीरा दुवै अहिले अध्ययनको सिलसिलामा अष्ट्रेलियामा छन् ।

उमेश त्यहाँ गुर्खाज टिभी नामक युट्युब च्यानलसमेत चलाउँछन् । शुरुमा अग्रजहरूले आनाकानी गरे पनि दाजु–भाउजूको सहयोगपछि विश्वासमा लिएको मीरा बताउँछिन् । सामाजिक छुवाछुत विरुद्धको अभियानका लागि पनि आफूहरूले सामाजिक चलनअनुसारकै विवाह गरेको बताए । उनीहरूले छुवाछुतलाई अझै समाजबाट हटाउन नसकेको भन्दै चिन्ता व्यक्त गरे । बाल समूहमा हुँदा छुवाछुत, बहुविवाह, बालविवाहका विरुद्ध चेतना जगाउँदै अरूलाई सिकाउँदै हिँड्ने आफूहरूलाई अहिले आफ्नै परिवारलाई बुझाउन गाह्रो भएको उनीहरूले बताए । २१ औं शताब्दीमा पनि जातभातको कुरा अझै रहेको भन्दै यसको अन्त्य गर्ने पनि युवाहरूको भूमिका अपरिहार्य रहेको उनीहरू बताउँछन् ।

‘आफ्नो खुट्टामा उभिइसकेको र यति धेरै सामाजिक विषयहरू थाहा भएको हामीलाई त गाह्रो भयो भने अरूलाई कस्तो होला ?’ –मीरा भन्छिन् । परिवार तथा आफन्तका केही सदस्यहरू सकारात्मक नभए पनि बाँकी धेरै भने सकारात्मक रहेको उनीहरू बताउँछन् । ‘समाजमा सकारात्मक सन्देश दिन पनि हामीले एकै ठाउँमा विवाह गरेका हौँ’ –उनीहरूले भने । विवाहमा इटहरीका अग्रज, समाजसेवी, मिडियाकर्मी, न्यायकर्मी, महिला अधिकारकर्मी तथा सचेत युवाहरूको बाक्लो उपस्थिति थियो । उपस्थित सबैले विवाह सामाजिक कुरीतिविरुद्धको प्रहार भएको बताए ।