संखुवासभा । जिल्लाको दुई स्थानमा हुने उपनिर्वाचनको सम्पुर्ण तयारी तयारी पुरा भएको छ । मकालु गाउँपालिकाको अध्यक्ष र खाँदबारी नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षको उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।

शनिबार हुने उपनिर्वाचनको लागि आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरु र कर्मचारीहरु मतदान केन्द्रमा पठाईसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालले जानकारी गराएका छन् । विभिन्न चरण गरेर निर्वाचन सामग्रीहरु मतदान केन्द्रमा पठार्ई सकिएको प्रमुख दङ्गालले जानकारी दिए । भौगोलिक रुपमा टाढा रहेको मतदान केन्द्रहरुमा गत बुधबार नै सामग्रीहरु पठाईसकिएको थियो भने नजिकका केन्द्रमा बिहिबार पठाईएको हो ।

मकालु गाउँपालिकाको केन्द्र नुमबजार जिल्लाको सदरमुकाम खाँदबारी देखि ४२ किलोमिटरको दुरीमा पर्छ भने खाँदबारी नगरपालिका सदरमुकाम क्षेत्र हो । सबै भन्दा टाढाको मतदान केन्द्र मकालु गाउँपालिकाको वडा नं. ४ को पाँच पोखरी आधारभुत विद्यालय निभारेमा हिजो नै मत पेटिका, मत पत्र लगायतका सम्पुर्ण सामग्रीहरु सहित कर्मचारी पुगिसकेको दंगालले जानकारी दिए । उनका अनुसार मतदान केन्द्रमा सर्वदलिय बैठक, चार किल्लाको रेखाङ्कन, स्वयंसेवकहरु नियुक्ति लगायतका सम्पुर्ण कार्यहरु पुरा भईसकेको छ ।

त्यस्तै, स्वयंसेवक, कर्मचारी र सुरक्षाकर्र्मीहरुलाई सम्बन्धीत मतदान अधिकृतले अभिमुखिकरण समेत गराईसकेका छन् । शुक्रबारसम्ममा सम्बन्धीत केन्द्रका मतदाता परिचय पत्रहरु वितरण गरिसकिने बताएको छ । ‘आगमी निर्वाचनमा मतदानको लागि सम्पुर्ण तयारी पुरा भईसकेको छ, अब मतदान गराउन मात्र बाँकी छ’, दंगालले भने ।

संखुवासभामा हुने दुई ठाउँको निर्वाचनमध्ये मकालु गाउँपालिका सुरक्षाको हिसाबले अति संवेदनशिल रहेको छ । अध्यक्ष पदको उपनिर्वाचन हुन लागेको मकालु गाउँपालिकाका धेरैजसो मतदान केन्द्रहरु भौगोलिक रुपमा विकट भएको कारण मकालुका सबै केन्द्रहरु अतिसंवेदनसिल सुचिमा राखिएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले जानकारी दिए ।

मतदान केन्द्र र मतदाताहरुको सुरक्षाको लागि भित्री भागमा जनपथ प्रहरी त्यसपछि शसस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन् । यस पटक उपनिर्वाचन लक्षित गरेर तीन सय जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दुलालले बताए ।

मकालु गाउँपालिकामा १३ मतदान केन्द्र रहेको छ भने खाँदबारी ३ मा २ वटा मतदान केन्द्रहरु रहेका छन् । मकालु गाउँपालिकामा ९ हजार एक सय मतदाताहरु रहेका छन्भने खाँदबारी ३ मा एक हजार ८ सय ३० जना मतदाता रहेका छन् ।