बिर्तामोड/ निर्माण सुस्त भएको भन्दै चर्काे दबाव आएपछि आशिष प्रेरा जेभीले बिर्तामोडबाट चन्द्रगढी जोड्ने भद्रपुर रोडको ठेकेदार कम्पनी परिवर्तन गरेको छ ।

ठेकेदार कम्पनी परिवर्तनपछि पुरानो बक्यौता भुक्तानी गर्न बाँकी रहेको भन्दै युवासङ्घको एउटा टोलीले निर्माण रोक्न दबाव दिएको पाइएको छ ।

झापा सिटी कन्स्ट्रक्सनका प्रोप्राइटर तथा राष्ट्रिय युवासङ्घका जिल्ला अध्यक्ष शम्भु भण्डारी, प्रदेश सदस्य राजकुमार थापालगायतले पुरानो हिसाब चुक्ता गरेर निर्माण शुरु गर्न दबाव दिएका हुन् । आशिष प्रेरा जेभीले यही वर्षको पुष मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता गर्दै चार लेनको यो सडक ठेक्का लिएको थियो । निर्माण कम्पनीले राजकिशोर गुप्तालाई पेटी कन्ट्याक्टमा ठेक्का दिएको थियो । गुप्ताले जिम्मा लिएको काम सक्न अब ४६ दिन बाँकी छ । सो अवधिमा काम नसक्ने देखेपछि ठेकेदार कम्पनीले झापाकै कञ्चन निर्माण सेवालाई बाँकी काम गर्न जिम्मा दिएको छ ।

गुप्ताले जिम्मा लिएको समयमा आफूले दिएको गिट्टी, बालुवालगायतका सामग्रीको भुक्तानी नदिएको भण्डारी र थापाको भनाइ छ । ‘मेरो २५–३० लाख, राजकुमार थापाको ६०–७० लाख, अर्काे एकजना साथीको १५–२० लाख रुपैयाँ ठेकेदार राजकिशोर गुप्ताले भुक्तानी दिन बाँकी छ, त्यो पैसा दिएर काम गर्नुपर्यो नि’ अध्यक्ष भण्डारीले भने, ‘पहिले हाम्रो पैसा पाउनु पर्यो, अनि सहजरूपमा काम अगाडि बढ्छ ।’ उनले आफूलाई युवासङ्घको अध्यक्ष भनेर सञ्चारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाए । उनले भने, ‘मान्छेको व्यावसायिक र राजनीतिक जीवन फरक–फरक हुन्छ भनेर बुझ्नु पर्छ ।’

भद्रपुर रोड निर्माणका लागि गिट्टी, बालुवा उपलब्ध गराउने अर्का ठेकेदार राजकुमार थापाले आशिष प्रेरा जेभीले राजकिशोर गुप्तामाथि अन्याय गरेको हुनाले कम्पनीले नै आफ्नो रकम भुक्तानी गर्नुपर्ने बताए । उनले पेटी कन्ट्याक्टर २ नम्बर प्रदेशको भएको हुनाले अन्यायमा पारिएको दाबी गरे । थापाले भने, ‘घाटा हुने काम गुप्ताले गर्ने, अनि नाफा आउने काम अरूलाई जिम्मा दिएर हुँदैन ।’ उनले अबको बाँकी निर्माणमा चार करोड नाफा हुनेसमेत दाबी गरे ।

सडक निर्माणको ठेक्का लिएको आशिष प्रेरा जेभीका सञ्चालक विकास मल्लले डिभिजन सडक कार्यालय दमकमा बसेर गुप्तासँग हिसाब क्लियर गरिसकेको बताएका छन् । बाटो रोक्न दबाव आएको विषयमा जिज्ञासा राख्दा झापा क्षेत्र नम्बर २ का सङ्घीय सांसद् पवित्रा निरौला खरेलले सडक निर्माणको काम एक सेकेण्ड पनि रोक्न नदिने बताइन् ।

सांसद् खरेलले कसैको हिसाब–किताब मिलाउनु भए सम्बन्धितहरू बसेर हिसाब मिलाउनु पर्ने बताइन् । ‘जनतालाई सास्ती भएको छ, समयमा काम सकिनु पर्छ भनेर हामी रात–दिन घच्घच्याउन लागेका छौं’ सांसद् खरेलले भनिन्, ‘विकासका काममा अवरोध पु¥याउनेलाई प्रशासनले कडा कारबाही गर्छ ।’

२०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने गरी करसहित २७ करोड ९ लाख ७० हजार ९६ रुपैयाँमा सम्झौता भए पनि सो समयमा निर्माण नहुने अवस्था देखिएपछि जनप्रतिनिधि र स्थानीयको दबावमा कामलाई तीव्रता दिन डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले आशिष प्रेरा जेभीलाई दबाव दिएका थिए ।

सडकबाट हालसम्म भ्याटबाहेक सो सडकको ६ करोड ४५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । काम सक्नुपर्ने समय ४८ दिन मात्र बाँकी छ । ‘आशिष प्रेरा जेभीले लेवर, मिस्त्री, सुपरभाइजर, इञ्जिनियर कसलाई काममा लगाउँछ, त्यो हाम्रो सरोकारको विषय होइन’ डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भने, ‘समयमा तोकिएको गुणस्तरअनुसारको काम निर्माण कम्पनीले गर्नुपर्छ, त्यो नगरे कानूनअनुसार कारबाही गर्छौं ।’

पछिल्लो समयमा सडक निर्माण गरिरहेका निर्माण व्यवसायी केदार गिरीले काम गर्न चुनौति देखिएको बताए । ‘आज १२ बजेदेखि काम नगर्नू भनेर शम्भु भण्डारी र राजकुमार थापाले भनेका छन्’ गिरीले भने, ‘र, पनि काम गरिरहेका छौं ।’ बिर्तामोडको भद्रपुर रोडमा बिर्ताबजारसम्म ४ लेन र त्यसपछि २ लेनको सडक निर्माण हुने पहिलेको ठेक्का थियो । पछि प्रधानमन्त्रीको निर्देशनमा सबै ४ लेनको बनाउने भनेर ठेक्का थप भएको छ ।