दमक/ देशको परिवर्तनका लागि भन्दै सशस्त्र आन्दोलनमा होमिएका झापा गौरादह–२ का विष्णु हस्ता २०६० सालमा सेनाको गोलीबाट मारिए । पछि उनलाई शहीद घोषणा गरियो ।

उनै शहीद विष्णु हस्ताको परिवार यतिबेला रोग र अभावले छट्पटाइरहेको छ । शहीद हस्ताको माटोको पुरानो घर भत्कँदो अवस्थामा छ । अलिक ठूलो हावा चले बस्न मुस्किल पर्ने जीर्ण घरमा अहिले उनका ६८ वर्षीय पिता रोग र अभावले छट्पटाइरहेका छन् ।

घरका मूली शहीद पिता मन्सी हस्ता विरामले थला परेका छन् । उपचारका लागि पैसा नभएको परिवारले जनाएको छ । बोल्नसमेत नसक्ने मुन्सीको अवस्था दयनीय छ । घरमा खाने अन्न छैन । आङ ढाक्ने न्यानो कपडा छैन । थलिएका बिरामी वृद्धसँग समयमा औषधि खाने पैसासमेत छैन । घर लड्न आँटेको छ । आँगनमा सानो छोरीले बाँधेको खाटमा पुरानो कपडा ओछ्याइएको छ । त्यही खाटमा सुतिरहेका वृद्ध बोल्न नसक्ने अवस्थामा छन् ।

शहीद परिवारलाई नयाँ घर बनाइदिने भनेर पार्टी र सरकारले समेत पटक–पटक आश्वासन देखायो । तीन पटकसम्म घरको शिलान्यास पनि गरियो तर अहिलेसम्म घर बन्न सकेको छैन । २ वर्षअघि शिलान्यास गरेर ३ सुते रडका १० वटा पिल्लर गाडिएको छ । तर रडका पिल्लर अहिले मक्किन थालेका छन् । माकुराको जालो लागेर ती रडहरू सबै पुरिएका छन् । बस्दै आएको घरको अवस्था दयनीय छ ।

नेपालमा राजनीतिक परिवर्तनका लागि हतियार बोकेर तत्कालीन माओवादी आन्दोलनमा होमिएका शहीद विष्णु हस्ताका पिता वर्ष ६८ का मुन्सी हस्ताको अवस्था दयनीय छ । झापाको गौरादह नगरपालिका–२ स्थित लोदाबारी निवासी मुन्सी हस्ताको आर्थिक अवस्था ज्यादै कमजोर भएपछि स्थानीय तत्कालीन नेकपाको तर्फबाट एउटा घर निर्माण गरिदिने घोषणा गरेको ४ वर्ष बित्यो । घरको तीनपटक त शिलान्यास भयो तर विडम्बना घर अहिलेसम्म निर्माण हुन सकेको छैन ।

हस्ताको सानो झुप्रो घरको अगाडि आँगनमा चारकोठाको पक्की घर निर्माण गर्न रडसमेत गाडिएको छ । यही रडमा माकुराले जालो लगाइसकेको छ । वरिपरि चारै सुरमा ढुङ्गाको जगसमेत उठाइएको वर्षौं बितिसक्दा पनि निर्माण नभएपछि हस्ताको न्यानो घरमा बस्ने आशा अब आशामै सीमित भएको छ ।

शहीद परिवारको सम्मानस्वरूप तत्कालीन नेकपा माओवादीले चारकोठे पक्की घर निर्माण गरिदिने भन्दै २०७४ साल फागुन २१ गते शहीद दिवसको अवसरमा क्षेत्र नम्बर ५ का क्षेत्रीय इञ्चार्ज गगन पुरीले ठूलै तामझामका साथ शिलान्यास गरेका थिए । त्योभन्दा दुई वर्षअघि पनि शहीद तथा बेपत्ता परिवारको तर्फबाट घर निर्माण गरिदिने भन्दै शिलान्यास भएको शहीद बेपत्ता समाज झापाका तत्कालीन अध्यक्ष डिल्ली रिजालले बताए । अन्तिम पटक २०७६ साल असार २३ गते जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरिदिने भन्दै प्रदेश नम्बर १ का सांसद् झलकसिंह दर्लामीले शिलान्यास गरेका थिए ।

यसरी पटक–पटक शिलान्यास गर्दै छाडेपछि हस्ता परिवारले नयाँ घरमा बस्ने आशा मारिसकेको छ । फोक्सोको क्यान्सर भएर थलिएका हस्तालाई अहिले पनि छोराले बलिदानी दिएकोमा कुनै पछुतो छैन, बरु गौरव लाग्छ । यति हुँदा पनि उमेर पुगेको लक्का जवान छोरा युद्धमा मारिएपछि अहिले घरमा वृद्धवृद्धा र बालबालिका मात्र रहेकाले घर सञ्चालनमा नै असहज भएको शहीद विष्णु हस्ताकी भाउजू पूर्णिमाया हस्ता बताउँछिन् ।

लड्न आँटेको घर देखाउँदै पूर्णिमाया भन्छिन्, ‘बुबा बिरामी, अरू केटाकेटीमात्र छन् । मेरो श्रीमान्को समेत बिरामी भएर निधन भयो । देवरको युद्धमा ज्यान गुम्यो ।’ आफ्नो अवस्थाको विषयमा कसैले चासो नलिएकोमा उनको गुनासो छ । उनी भन्छिन्, ‘घर बनाउन गाडेका रडसमेत खियाले मक्काएर गए, खोइ घर बनेन ।’

शहीद विष्णु हस्ताको २०६० साल पुस ८ गते झापाकै कमल गाउँपालिकाको लखनपुर मङ्गलबारेमा तत्कालीन नेपाली सेनाको गोली लागी मृत्यु भएको थियो । पछि हस्तालाई शहीद घोषणा गरिएको थियो ।