इटहरी/ तरहरामा लामो समय निर्माणाधीन खानेपानी आयोजनाको काम सुस्त हँुदै आएको छ । लामो समयदेखि निर्माणाधीन खानेपानीको काम अगाडि नबढ्दा तरहराबासी अहिले सम्म कलको पानी खान बाध्य हुँदै आएका छन् ।
२०७१ साल फागुन ५ गते राष्ट्रिय योजना आयोगका सदस्य प्रेमप्रसाद दङ्गाल ले शिलन्यास गरे । त्यो खानेपानी आयोजनाको काम अहिलेसम्म पूरा नहुँदा ३२ सय परिवार अहिले पनि कलको पानी खाँदै आएका छन् । खानेपानी आयोजनाको काम आर्थिक अभावले रोकिएको तरहरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले जनाएको छ । इटहरी २० तरहराका पासाङ घिसिङले शुद्ध खानेपानी नहँुदा कलको पानी खान बाध्य भएको बताए ।
लामो समय देखि निर्माणाधीन खानेपानी अहिलेसम्म घरमा नआएको उनको भनाइ थियो । २ वर्ष अगाडि नै खानेपानी घरमा आउँछ भनेका थिए, अहिले सम्म आएन उनले भने । इटहरी सुगम भए पनि खानेपानीको विस्तार नहुँदा दुर्गम गाँउमा बसे जस्तो अनुभव हुने गरेको स्थानीयहरू बताउँछन् ।
तरहरा क्षेत्रको ३ हजार २ सय ४५ घर परिवारलाई पानी खुवाउने उद्देश्यले निर्माण शुरु भएको खानेपानी आयोजना आर्थिक अभावले समस्यामा परेको तरहरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्ष केशर प्रधानले बताए । आर्थिक अभावकै कारण काम अगाडि नबढेको प्रधानको भनाइ छ ।
पुग्दो बजेट नछुट्याएको कारण समस्या भएको छ । पाइप बिच्छ्याउनका लागि पाईप,फिटिङको सामान नहुदा खानेपानीको काम अगाडि बढ्न नसकेको हो अध्यक्ष प्रधानले भने । भवन बनेको छ । तर पाइप नहुँदा अहिले काम रोकिएको छ उनले भने । जसका कारण अहिले स्वच्छ पानी खुवाउन सकिएको छैन प्रधानले भने । हामीले जति सक्दो पानी चाँडै वितरण गर्ने तयारी गरेका थियौ तर सरकारले अपुग बजेट दिँदा समस्या भयो उनले भने ।
इटहरी उपमहानगर पालिका अन्तरगत वडा नम्बर १९ र २० को लागि भनेर स्थापना शुद्ध पिउने पानी नै छैन’ । ‘पिउने पानीको विकल्पमा बोरिङ गरिएको पानी अधिकांश इटहरी वासीले पिउँदै आएका छन् । इटहरी क्षेत्रमा खानेपानी आयोजना लागू भए पनि स्वच्छ खानेपानी भने इटहरीका अधिकांशले खान पाएका छैनन् ।
इटहरी खानेपानी डिभिजन कार्यलयका साहयक इन्जिनियर प्रमोदकुमार दत्तले प्रदेशबाट योजना सङ्घमा गएका कारण समस्या भएको बताए । बजेट थोरै थोरै आएको कारण समस्या भएको बताए । बर्सेनि २० लाख मात्र आउँछ सानो तिनो बजेटले पुग्दैन उनले भने । अहिले बजेट अभावकै कारण काम रोकिएको उनको भनाइ थियो ।































