धरान / सुगम शहर धरान उपमहानगरपालिकाको दुर्गम वडा ४ नं. भोर्लेनीकी ६२ बर्षीय अर्चुकुमारी राईले २०६४ साल २०७४ सालमा भोट खसालिन दुवै निर्वाचनमा उनले खसालेको मत सदुपयोग भएकोमा उत्साहित छिन् ।
तर पछिल्लो समय धरान उपमहानगरपालिकाले कर बढाएको भन्ने हल्लाहाले उनको मनमा चिसो पसेको छ । ‘कहाँ के बढ्यो थाहा छैन् तर तिर्न नसक्ने गरि बढेको छ । त्यसो गर्न भएननी ।’–आइतबार नेकपाका उम्मेद्वार प्रकाश राई भोट माग्दैं पुगेका बेला राईले गुनासो सुनाइन ।
‘सूर्यलाई भन्दा अरुलाई भोट दिएको छैन् । तर आशा लाग्दो पार्टीले जनताको भरोसा गुमाउनु हुदैन् ।’–उनले सुझाव पनि दिइन । प्रकाश राईसँगै धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारी पनि सँगै भएका कारण नगरले करको विषयमा गरेको कामबारे सुनाए पछि अर्चु ढुक्क भइन । त्यसो त भोर्लेनीलगात ४, ५ र ६ नंं वडा साविक पाचकन्या गाविसमा पथ्र्यो । गाविसको र उपमहानगरको कर दर फरक हुदा गाविसबाट एकै चोटी उपमहानगरवासी हुदा करको दर बढेको भान भएको नेकपाका जिल्ला कमिटी सदस्य चोत्लुङले बताए ।
जामुनेका ५२ बर्षीय कमल कट्वालले नेकपाको नेतृत्वको सरकारले विकासका योजनाहरु ल्याएकाले आफु उसैलाई भोट हाल्ने बताए । ‘विकासका योजनाहरु ल्याएको छ । सडक, विजुली आवश्यक कुरा आएका छन् । फेरी अर्को पार्टीले जित्यो भने विकास बरालिन्छ ।’– पराल थन्काउदैं गर्दा भेटिएका कट्वालले भने–‘ संघ प्रदेशमा जसको नेतृत्व छ उसलाई भोट दिए छिटो विकास हुन्छ । होइन भने दलहरुले विकासमा राजनीतिक गर्छन् ।’
भोर्लेनीकै दुई बर्षदेखि वृद्धा भत्ता थाप्दैं आएकी सीतामाया राई वृद्धाभत्ता दिने पार्टीलाई गाउँवैले भोट हाल्ने सल्लाहा भएको बताइन् । उम्मेद्वारले दिएको सूर्य चिन्हसहितको मत पत्रको नमुना देखाउदैं भनिन–‘यसमा छाप लगाएको ४ पटक भयो । त्यस बापत ४ महिनामा १२ हजार भत्ता पाउदैं आएको छु ।’
काम्फेकका कर्ण कट्वाल, हिमादेवि कट्वाल, सेर्गेका सम्शेर तामाङ, मीना तामाङले कार्यवहाक मेयर भण्डारी र मेयरका उम्मेद्वार प्रकाशसँग सेर्गेसम्म सडक विस्तार, खानेपानी ट्याङ्की निर्माण र भालु गुफाको प्रचारका लागि बजेट दिन माग गरे । उनीहरुका समस्या र मागलाई उम्मेद्वार राईले नोट गरेका थिए । ‘आफुलाई तपाईहरुले नेतृत्वमा पु¥याए पछि आधारभूत आवश्यता पुरा गर्छु । जनताले तिर्न सक्ने किसिमको बैज्ञानिक कर व्यवस्थापन मेरो जिम्मेवारी हुने छ ।’– मेयरका उम्मेद्वार राईले भने ।
आइतबार नेकपाका उम्मेद्वार राईसहित संघीय सांसद जयकुमार राई, नेकपाका नेता मुरारी सुवेदी, चोत्लुङ, कार्यवहाक मेयर भण्डारीलगायतसहित ४ नं. वडाको घरदैलोमा पुगेर भोट मात्र मागेनन, जनताको गुनासो पनि सुनेका थिए । उनीहरुको गुनासोलाई सम्बोधान गर्ने प्रतिवद्धतासमेत जनाएका थिए । ४ नं. वडालाई सडक, विजुली र पर्यटकीय क्षेत्र पूर्वाधार विकासका लागि बजेट छुट्याएकाे सांसद जयकुमार राईले बताए ।

76717446_442009133149750_2104962105969999872_n