विराटनगर । प्रदेश सरकारले नमुना परियोजनाको रूपमा लिएको घिनाघाट–विराटचौक ४ लेनको सडक निमार्णको काम तीब्र रुपमा भइरहेको छ । प्रदेशको नमुना आयोजनाको रुपमा १ नम्बर प्रदेश सरकारले लिएको उक्त सडक परियोजनाको काम अहिले धमाधम भइरहेको हो ।

गत भदौको अन्तिम साता प्रदेशका मुख्यमन्त्री शेरधन राईले यो सडक परियोजना मोरङको नेताचौकमा एक समारोहको बिच शिलान्याश गरेका थिए । शिलन्यास भएको तीन महिना भित्रमा हालसम्ममा २० प्रतिशत सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय मोरङले जनाएको छ ।

विराटनगर भित्रने तथा बाहिरिने वैकल्पिक सडकको रुपमा रहेको विराटचोक–घिनाघाट सडक ४ लेन बनाउने काम सुरु भएको हो । २२.५ किलोमिटर लम्बाइ रहेको यो सडक विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ । कोशी राजमार्ग पनि ६ लेनको बनाउने काम जारी छ । प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानी रहेको विराटचोक–घिनाघाट ४ लेन बनाउने सडक वहुवर्षे आयोजनाअन्तर्गत राखिएको छ ।

पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठका अनुसार असोज १ गतेदेखि तीब्र गतिका साथ काम सुरु भएको हो । हालसम्ममा १५ देखि २० प्रतिशत काम सम्पन्न भइसकेको छ भने भुक्तानी पनि २० प्रतिशत भइसकेको छ । विगतमा जस्तो बजेट निकासा समयमै नहुने समस्या अहिले देखिएको छैन । यसअघि बजेट लगेर काम नगर्ने निर्माण कम्पनीको व्यवहार यो सडकमा नदेखिएको र इमादारिताका साथ काम भइरहेको उनको भनाई छ ।

‘कार्यालयबाट उक्त सडकका लागि २० प्रतिशत रकम निकासा भएको छ, पहिला जस्तो पैसा लगेर अन्य ठाउँमा लगानी गर्ने परिपार्टी त्यहाँ देखिएको छैन,’ श्रेष्ठले भने, ‘सम्झौता बमोजिम उहाँहरुले निर्माण कार्यक्रमा तीब्रता देखिएको देखिएको छ । डे«न निर्माण र साइडमा माटो पुर्ने काम धमाधम भइरहेको छ । साइडको प्रगति हेर्दा हालसम्म २० प्रतिशतसम्म देखिन्छ ।’

श्रेष्ठ रमण एपेक्स कम्पनीले निर्माण गरिरहेको सडकमा खानेपानीको पाइप र विद्युत् पोल समयमै नसर्ने हो कि भन्ने चिन्ता रहेको जनाएको छ । निर्माण कम्पनीका मेनेजर भरत कार्कीले बिद्युत्का पोल र पाइप समयमै सरे काममा सहज हुने उनले बताए ।

निर्माण कम्पनीले भने खानेपानीको पाइप र बिजुलीको पोलले कामको गतिमा अवरोध गर्न खोजेको इन्जिनियर अभि पोखरेलले बताउनु बताए । ‘कुनै पनि स्थानीय तहबाट बाधा आएर भने तोकिएको समयमा काम सकेर जिम्मा लगाउँछौं,’ निर्माण कम्पनीका इन्जिनियर पोखरेलले भने, ‘बिजुलीको पोल र खानेपानी पाइपको कारण चाहे अनुसारको स्पिड दिन सकेका छैनौं । त्यसले सिंगो रोडलाई समस्या भएको छ ।’

विराटनगरमा दोस्रो मूल ढोकाको रुपमा यो सडक निर्माण कार्य गरेर प्रदेशको समृद्धिको ढोका खोल्न आफूहरूले प्राथमिकतामा राखेको प्रदेश सरकारको भनाइ छ । सडक निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको अनुगमन र मूल्यांकन तथा निगरानीमा आफूले गरिरहेको बताउँदै प्रदेश सांसद विजय विश्वास थारुले पनि कामको गति तीब्र रहेको बताए । ‘प्रदेश सरकारकै गौरवको योजनामा यो सडक पर्दछ । प्रदेश सरकारले अरबौं बजेट विनियोजन गरेको बाटो निर्माणको गति तीब्र छ,’ सांसद विश्वासले भने, ‘हाम्रो अनुगमन पनि कुनै खालको गुणस्तरहिन नहोस् भन्नेमा केन्द्रीत छौं । काम हेर्दा समयमै सम्पन्न हुने देखिन्छ ।’

सम्झौता अनुसार आगामि २०७८ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ । वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ । सेन्टर पोइन्टबाट ३५/३५ फिट कालोपत्रे हुने र दुवै छेउमा १०–१० फिट टाढा छोडेर मात्रै निजी घर निर्माण गर्न पूर्वाधार विकास कार्यालयले यसअघि नै सर्वसाधरणलाई आव्हान गरेको छ । पूर्व मेचीका सर्वसाधरणलाई प्रदेशको राजधानी विराटनगर प्रवेशका लागि सहज होस् भन्ने उद्देश्यले यो सडकको चौडाई बढाइएको हो । यसलाई समयमै सम्पन्न गरेर प्रदेश सरकारले आफ्नो महत्व जनतासामू लाने प्रयास गरिरहेको छ ।

पहिलो चरणमा ड्रेनको काम भइरहेको छ । सोलिङ डेढ किलोमिटर फाइनल भएको छ भने आरसीसीको काम, ड्रेन निर्माण र साइडवाल निर्माणको काम तत्कालै सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । हाल १ सय ६ जना मजदुर, ३५ जना निर्माण कम्पनीका स्टाफ, ११ वटा माटो बोक्ने टिफर, २ वटा एक्साभेटर, १ वटा जेसिबीले लगातार काम गरिरहेको छ ।