बिर्तामोड/ बिर्तामोडको साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यसमिति अवैध भएको भन्दै उजुरी परेको छ । स्थानीय उपभोक्ताले उजुरी दिएपछि संस्थाको मङ्सिर १६ गते हुने तय भएको निर्वाचन अन्योलमा परेको छ ।

निर्वाचित कार्यसमितिको समयावधि समाप्त भई अवैध भएको अवस्थामा सो समितिले निर्वाचन गराउन नसक्ने भन्दै उजुरी परेपछि तोकिएको निर्वाचन अन्योलमा परेको हो ।

संस्थाको कार्यसमितिले विधानविपरीत निर्वाचन गराउन लागेको भन्दै केही उपभोक्ताले प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिएका थिए । संस्थाको विधानको दफा ६ को उपदफा १ को ४ मा कार्यसमितिको अवधि ३ वर्षको हुने उल्लेख छ । तर, निर्वाचित कार्यसमितिले तीन वर्ष भित्र निर्वाचन गर्न नसके समितिको निर्णयले ६ महिना समय थप गर्न सक्नेछ । थपिएको समयमा पनि निर्वाचन नभए कार्यसमिति अवैध हुने विधानमा उल्लेख छ ।

२०७२ माघ पहिलो साता संस्थाको निर्वाचन भएको थियो । निर्वाचन प्रक्रियाबाट जलकुमार गुरुङ अध्यक्ष रहेको समिति चयन भएको थियो । निर्वाचन भएको मितिका आधारमा २०७५ साल माघ ४ गते तीन वर्षे कार्यकाल समाप्त हुन्छ । संस्थाको विधानअनुसार ६ महिना थप गर्दा कार्यसमिति २०७६ साउन पहिलो सातासम्म मात्र वैध हुने देखिएकाले अवैधानिक कार्यसमितिले गर्ने निर्वाचन रोक्न माग गर्दै उजुरी परेको हो । उजुरीमा कार्यसमिति विघटन गरी तदर्थ समिति गठन गर्न माग गरिएको छ ।

उपभोक्ताको उजुरीपछि झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्ला समन्वय अधिकारीलाई विधानसम्मत काम गर्न गराउन आदेश दिएका छन् । जिल्ला जलस्रोत समितिका अध्यक्षसमेत रहेका प्रजिअले दिएको आदेशअनुसार निमित्त जिल्ला समन्वय अधिकारी गोपाल लिम्बूले बिर्तामोडको साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई विधानअनुसार कार्य गर्न पत्र पठाएका छन् ।

असोज ७ गते भएको साधारणसभाले मङ्सिर २८ गतेभित्र निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति गठन गरेको थियो । सोही बमोजिम समितिले मङ्सिर १६ गते निर्वाचनको मिति तोक्दै तयारी थालेको थियो । उपभोक्ताले कार्य समितिको वैधतामा प्रश्न गर्दै उजुरी दर्ता गरेपछि निर्वाचन समितिले ३ गतेदेखिको निर्वाचन कार्यक्रम स्थगित गरेको छ ।

बिर्तामोड खानेपानीका सल्लाहकार सदस्य सिपी कडरियाले उच्चस्तरीय राजनीतिक सहमतिबाट मात्र वर्तमान समस्या समाधान हुने बताए । उनले खानेपानी समिति आफै अवैधानिक भएपछि उनीहरूले बोलाएको बैठकमा दलहरूको सहभागिता नभएको जानकारी दिए । उनले अब विशेष साधारणसभा बोलाएर खानेपानीको बाँकी प्रक्रिया अघि बढाउन सुझाव दिए । त्यसपछि चाँडोभन्दा चाँडो पुनरावेदन समिति बनाएर निर्वाचन गर्नुपर्ने उनको धारणा छ ।

बिर्तामोड खानेपानीका सचिव मेघराज बास्तोलाले मतदाता छुटेका कारण उनीहरूलाई समेट्न निर्वाचनको समय तलमाथि भइरहेको जानकारी दिए । उनले भने, ‘अहिले नै अनिश्चित भन्न सक्दिन, शनिबारको सर्वदलीय बैठकबाट टुङ्गो लाग्छ ।’