भण्टाबारी/ सशस्त्र प्रहरीले नेपाल–भारतको दसगजा क्षेत्रमा बनाइएका घर–टहरा हटाएको छ । सशस्त्र प्रहरी बल साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँगको सहकार्यमा दसगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा हटाएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल साहेवगञ्जबाट इन्स्पेक्टर श्यामबाबु राय यादवको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतीय सीमा सुरक्षा बल ५६ बटालियन ए कम्पनी पथदेवाबाट एएसआई मूलराज शर्मा नेतृत्वको एसएसबीको टोलीले संयुक्तरूपमा दसगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा बिहीबार हटाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका अनुसार सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडानम्बर ४ इटरी र भारत विहार राज्यको अररिया जिल्ला सोनापुर ग्रामपञ्चायत १७ गुवारपुच्छीमा पर्ने नेपाल–भारत सीमास्तम्भ नं १८५ र एए ९७४ (मुख्य) देखि सीमास्तम्भ नं. १८४ (मुख्य) सम्म बनाइएका घर टहरा हटाइएको हो ।

बोर्डर इलाकामा नेपालतर्फबाट दशगजा अतिक्रमण गरी बनाइएका ११ वटा घर–टहरा र भारततर्फबाट समेत दसगजा अतिक्रमण गरी बनाइएका ४ वटा घर–टहरा र अन्दाजी १ कठ्ठा १० धुरमा लगाइएको तरकार बाली तथा केराखेती नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका डिएसपी मित्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नेपालतर्फबाट दसगजा अतिक्रमण गरी बनाइएका सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडानम्बर ४ इटरीका पडाडी ठाकुर, भगवान ठाकुर, उमान्द ठाकुर, लक्ष्मी ठाकुर, महेश मेहता, रमेश मेहता, रामदेव मेहता, तेजनारायण मण्डल, रामानन्द मण्डल, किशन मण्डल र कोइथु मण्डलको घर –टहरा र तरकारी बाली तथा केराखेती सशस्त्र प्रहरीले नष्ट गरेको हो ।

यसैगरी दसगजा अतिक्रमण गरी बनाएको भन्दै सशस्त्र प्रहरी र भारतीय एसएसबीले जिल्ला अररिया सोनापुर ग्रामपञ्चायत १७ गुवारपुच्छी बस्ने बरामकिशन मेहता, सदान्न मेहता र महम्मद मनसुरको दुईवटा गरी चारवटा घर टहरा हटाएको छ । दसगजा अतिक्रमण गरी बनाएका घर–टहरा हटाएपछि उक्त इलाकामा वस्तुस्थिति सामान्य नै रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

स्थानीय आक्रोसित
सशस्त्र प्रहरीले बिना कुनै जानकारी दसगजाबाट घर–टहरा हटाएपछि सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडानम्बर ४ इटरीका स्थानीय आक्रोसित बनेका छन् । वर्षौंदेखि आफूहरू दसगजा क्षेत्रमा बसेर सीमास्तम्भको रक्षा गर्दै आए पनि एक्कासि सूचना नदिई घर–टहरा हटाइएको भन्दै उनीहरू आक्रोसित बनेका छन् । वर्षौंदेखि सोही क्षेत्रमा बस्दै आए पनि अचानक सशस्त्र प्रहरीले घर–टहरा हटाएपछि बस्न समस्या भएको स्थानीय कोइथु मेहताले गुनासो गरे । उनले भने, ‘जाडो बढ्दैछ घर पनि भत्काइदिएपछि हामी कहाँ जाने ?’ देशको नियम कानून मान्न आफूहरू तयार भए पनि बिना कुनै जानकारी घर–टहरा हटाएर गरिबलाई दुःख दिने काम भएको उनको भनाइ छ ।

यता डिएसपी मित्र श्रेष्ठले सर्वसाधारणको दुःखमा प्रहरीको साथ सदा रहेको बताउँदै सीमा अतिक्रमण भएकोले अन्तर्राष्ट्रिय कानूनको कार्यान्वयन गराउन सशस्त्र प्रहरीले घर–टहरा हटाएको बताए । सीमास्तम्भ हराए पनि सुनसरीमा अतिक्रमण नभएको बताउँदै डिएसपी श्रेष्ठले दुवै देशका सर्वसाधारणले दसगजामा घर–टहरा र खेतीपाती गर्दै आएको बताए । नियमितरूपमा स्थलगत वस्तुस्थितिको बारेमा माथिल्लो निकायमा जानकारी गराउँदै आएको जनाउँदै डिएसपी श्रेष्ठले माथिल्लो निकायको निर्देशन कार्यान्वयन गराउने काम आफूहरूको भएको बताए ।