धरान/ समाजवादी पार्टी धरानमा आफ्नो उम्मेदवारसहित घरदैलो कार्यक्रमको सिलसिलामा शनिबार धरान–६ पानबारी पुगेको छ । समाजवादीका उम्मेदवार गजेन्द्र इस्बो चुनावी प्रचारमा पानबारी पुग्दा स्थानीय बासिन्दाले फूलमालाले स्वागत गरेका छन् ।

गजेन्द्र इस्बो पूर्व गोर्खा लाहुरे हुन् । उनकै नेतृत्वमा तीन दशकअघि ब्रुनाइमा जिआरयु काण्ड भएको थियो भने गोर्खा भूपू सैनिक सङ्घ गेसो पनि गठन भएर देशव्यापीरूपमा गोर्खाहरू आन्दोलित भएका थिए । गोर्खाहरूलाई राजनीतिक दलहरूले भोटबैङ्क मात्र बनाएकाले यसपटक समाजवादी पार्टीका तर्फबाट धरान उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएको उनले बताए ।

धरानको विकास, समृद्धि र सुशासनको सङ्कल्प, समाजवादी पार्टीको नेतृत्व अबको विकल्प’ भन्ने मूल नारा लिएर धराने जनतासमक्ष समाजवादीका उम्मेदवार इस्बोले भोट मागिरहेका छन् । समाजवादी पार्टी वडानम्बर ६ मा प्रचार–प्रसार सम्पर्क कार्यालयको पनि उद्घाटन गरिएको छ । नेपाली काङ्ग्रेस र नेकपापछि चुनाव प्रचारलाई तीव्रता दिनेमा अहिले तेस्रो पार्टीको रूपमा समाजवादी पार्टी देखिएको छ ।

समाजवादीका उम्मेदवार गजेन्द्र इस्बो घरदैलो अभियानको क्रममा तत्कालीन धरान नगरपञ्चायतका निर्वाचित जनपक्षीय प्रधानपञ्च तथा अग्रज साहित्यकार बम देवानको घरआँगनमा पुगेका थिए । बम देवानले आफू प्रधानपञ्च हुँदाको धरान नगरपञ्चायत अहिलेको धरान उपमहानगरपालिका बनिसक्दा ठूलै बदलाव आएको बताउँदै नयाँ गतिसँगै प्रतिस्पर्धामा उत्रिएकामा मेयरका प्रत्यासी इस्बोलाई सफलताको शुभकामना दिए ।

मेयरका प्रत्यासी इस्बो पूर्वगोर्खा सैनिकको अगुवा नेताका रूपमा धरानको विकास, निर्माण, सामाजिक, आर्थिक क्षेत्रका सुधारका आन्दोलनहरूमा सामाजिक अभियन्ताका रूपमा चिनिन्छन् । आफ्ना समकालीनहरू वेलायतको आवासीय भिषा अधिकारको सुविधा उपभोग गर्न वेलायत पलायन भएको बेला उनी धरानमै बसेर यहीँको आर्थिक, सामाजिक, राजनीतिक अवस्थासँग जुझ्दै जनसहभागितामूलक विकास कार्य लागू गर्न सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका छन् ।

पछिल्लो समयमा पनि पूर्वगोर्खाले जारी गरेका अधिकारका आन्दोलनदेखि धरानको आर्थिक सामाजिक विकासमा सक्रिय इस्बोले गोर्खा सहकारी संस्था, व्यवसायिक गोर्खा कम्प्लेक्स भवन, चुम्लुङ हिम निर्माण, विष्णुपादुकास्थित माछामारा डाँडामा भूपूगोर्खाहरूको करोडौंको लगानीमा निर्माणाधीन गोर्खा स्मृति पार्क निर्माणको कार्यमा सक्रिय रहेका छन् ।

समाजवादीको सचिवालय गठन
समाजवादी पार्टीले चुनावी अभियानलाई आक्रामक बनाउन २२ सदस्यीय सचिवालयसहित १९ उपसमिति गठन गरेको छ । पार्टीका अनुसार समितिको संयोजक शुभचन्द्र राई, सह–संयोजक कृष्ण लिम्बू, विपिन इवारम, तेञ्जिङ शेर्पा र सचिव ताजुब लिम्बू रहेका छन् ।

सदस्यहरूमा निमा पोङ्सुवा, बिना पुमा राई, कृष्णबहादुर राई, हेमराज जिमी याक्खा, शम्भु राई पृथक, लक्ष्मी राई, रामकुमार राई, मदन तामाङ, जयमान साम्पाङ, छत्रबहादुर विक (केशव), वरदान हाङ्खिम राई, सागर सरगम चेम्जोङ, सुमन चेम्जोङ, मिलन राई, सुमित्रा राई, कुमार प्रधान, श्री सुब्बा रहेका छन् । समाजवादीले घरदैलो कार्यक्रम मङ्सिर ८ गतेसम्म चलाउने र मङ्सिर ९ गते भानुचोकमा चुनावी सभा गर्ने पार्टीले जनाएको छ ।