धनकुटा/ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कालापानीको नेपाली भूमि भारतले मिचेर आफ्नो नक्सामा समेटेको विषयमा नेपाल र भारतबीच दुई देशस्तरीय छलफल भइरहेको बताएका छन् ।

४१ औं शहीद दिवसको अवसरमा शहीदभूमि गाउँपालिकाको पञ्चकन्या बजारमा आयोजना गरिएकोे सभालाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखेरलले यो विषय दुई देशबीचको भएका कारण उच्चस्तरबाट सरकारले कुरा गरिरहेको बताए । पोखरेलले कहीँ कतै आंशिकरूपमा हिंसाका अराजक घटना देखिएको तर जनतालाई तर्साउने काम कुनै हालतमा अहिलेको सरकारलाई मञ्जुर नहुने बताए ।

उनले समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनका लागि अभ्यासहरूमा परिवर्तन आवश्यक भएको चर्चा गरे । मन्त्री पोखरेलले नेपालको समृद्धि कृषिबाट मात्र सम्भव हुने दाबी गर्दै यसका लागि जमिनको बारेमा राष्ट्रिय नीति बनाउने तयारी गरिएको बताए । उनले पाँचवर्ष वर्षभित्रमा ज्येष्ठ नागरिकहरूको मासिक भत्ता पाँच हजार रुपैयाँ पु¥याउने दाबीसमेत गरे ।

सोही कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश १ का प्रत्येक शहीदभूमिहरूलाई नमूना गाउँ बनाउनका लागि एक–एक करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । नेपालको सङ्घीयता नेपाली मौलिकतामा आधारित भएको उनले चर्चा गरे । सोही कार्यक्रममा नेकपाका प्रदेश इञ्चार्ज भीम आचार्यले जनताका मुख्य आवश्यकताहरू शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी भएकाले यो समस्या समाधानका लागि सबै एकजुट हुन आग्रह गरे ।

नेकपा धनकुटाका अध्यक्ष एवम् सङ्घीय सांसद् राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य शहीदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले राखेका थिए । सोही अवसरमा अध्यक्ष राईले रक्षामन्त्री पोखरेलसमक्ष शहीदभूमिको विकासका लागि सातबुँदे माग पेश गरेका थिए ।

कार्यक्रममा नेकपा धनकुटाका सचिवालय सदस्य नैन रुचालले शहीदभूमि गाउँपालिका क्षेत्रका शहीदहरूको परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा साँस्कृतिक कार्यक्रमका साथै खाल्सा क्षेत्रकै लोकप्रिय वाडाङ्मी र ढोलनाचसमेत प्रस्तुत गरिएको थियो ।