धरान (ब्लाष्ट) सल्लेरी बचत तथा ऋण सहकारी संस्थाबाट जालझेल गरी रकम हडपेको भनी प्रकाशित समाचारप्रति लिम्बुवानका नेता अमर इजमले गम्भीर आपत्ति जनाएका छन् ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्षसमेत रहेका इजमले बुधबार आफू र आफ्नो पार्टीलाई बदनाम गर्न सुनियोजित रूपमा समाचार प्रकाशित भएको दाबी गरे । ब्लाष्ट कार्यालयमा आइपुगेका उनले आफू पनि सल्लेरीबाट पीडित भएकाले आफूले पाउने भागको रकम उठाएको बताए । ‘आफ्नो ऋण उठाउन पाउने कि नपाउने ?’ उनले प्रतिप्रश्न गरे, ‘रकम उठाउँदा हडपेको भन्ने ?’ इजमका अनुसार सल्लेरीबाट चारवटा पासबुकमा श्रीमती गीता कार्की लिम्बू र आफ्नो नाममा गरी कुल १४ लाख २३ हजार ९ सय ९९ सय रुपैयाँ पाउनुपर्ने थियो ।

त्यसमध्ये सल्लेरीका सञ्चालक कृष्णबहादुर विकले सञ्चालनमा ल्याएको शिखर सगरमाथा सुन–चाँदी पसलबाट १ लाख ६० हजार ३ सय रुपैयाँ बराबरको गरगहना लिएको र बाँकी रकमका लागि कागजात गरेको उनले बताए । ‘त्यसमा मैले पाउने ब्याज रकम त त्यसै छाडेको छु’–उनले भने । उनले चुनावी माहोलको बेला आफूलाई मानमर्दन हुने गरी सुनियोजित रूपमा समाचार प्रकाशित भएको दाबी गरे । ‘वैधानिक रूपले मैले मेरो रकम लिन पाउने कि नपाउने ? मैले रकम लिएको कागजात सबै छन्, ती प्रमाणहरू जतिबेला जहाँ पनि पेश गर्न सक्छु’–उनले भने ।

जग्गा लिलामी गरी लिएको विषयमा उनले प्राइम बैङ्क धरान शाखाले ३५ दिने र १५ दिने छुट्टाछुट्टै सूचना प्रकाशित गरी लिलामी गरेकाले आफूले बोलकबोल गरेर ३८ लाख रुपैयाँमा लिएको दाबी गरे । ‘लिलामीको प्रक्रियामा हालेका कारण मैले त्यो लिलामीमा बोलकबोल गरेर लिएको हुँ’–उनले भने । प्राइम बैङ्कले साउन ७ गते राष्ट्रिय पत्रिकामा ऋणि कृष्ण विकलगायत परिवारको नाममा ३५ दिने सूचना प्रकाशित गरेको देखिन्छ । त्यस्तै भदौ १३ गते पुनः १५ दिने सूचना प्रकाशित गरी लिलामी प्रक्रियामा अगाडि बढाएको देखिन्छ ।

उनले सङ्घीय लिम्बुवान मञ्च नेपालको नाम जोडेर बदनाम गर्न खोजेको भन्दै रोष व्यक्त गरे । ‘दोषी भएको भए मेरो नाम मात्रै जोडेको भए ठीक हुन्थ्यो । तर, पार्टीलाई नै जोडेर आक्षेप लगाउने काम गरिएको छ’–उनले भने । उनले यस विषयमा आफू अदालतसम्म जाने चेतावनी दिए । सहकारी पीडित सङ्घर्ष समितिले अर्का दलित नेता खगेन्द्र नेपालीको नामसमेत जोडेका थिए । उनी पनि पीडितमध्येका एक हुन् ।

तर, पीडितहरूमध्ये इजम र नेपालले आ–आफ्नो पैसा उठाएर अन्य पीडितलाई बेवास्ता गरेको भन्दै सङ्घर्ष समितिले आक्रोस व्यक्त गरेको छ । यता सहकारी पीडित सङ्घर्ष समितिका अध्यक्ष तुलसीप्रसाद विकले लिम्बुवानको नेता भएर आफ्नो ऋणमात्रै असूली गरी अन्यको जेसुकै होस् भन्ने प्रवृत्ति देखाएको बताए । उनले सुनियोजित तवरबाट नेताहरूले आफूहरूलाई थप पीडित बनाएकाले आफूहरू जहाँ गएर पनि बोल्ने बताए । सल्लेरीले करिब ८ करोडभन्दा बढी रकम ठगी गरेको जनाइएको छ ।