भण्टाबारी/ सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटानमा गाडीको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । मङ्गलबार जिल्ला समन्वय समिति उदयपुरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको जिसस उदयपुरको स.१ झ २६८ नम्बरको गाडीले विपरीत दिशाबाट आएको को.३० प ५३०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका झापा दमक नगरपालिका–१० का २९ वर्षीय दीपेश मुखिया सुनुवार र सोही स्थान बस्ने वर्ष ३० का योगेश धिमालको उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिए । मुखियाको जिल्ला अस्पताल इनरुवा र धिमालको विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको उनले बताए ।































