धरान/ एक समय धरान पहाडीक्षेत्रको मुख्य बजार थियो । कोशी राजमार्ग नबन्दासम्म धरान पहाडी जिल्लाको व्यापारिक शहरको रूपमा पहिचान बनाएको थियो । पहाडीक्षेत्र सडक सञ्जालमा जोडिएपछि धरानको व्यापार पहाडतिरै चढ्यो भने धरान सुख्खा बन्यो ।

धरानको पुरानो साख हराएपछि धरानेलाई चिन्ता नभएको त होइन । केन्द्रसँग धरानले पहुँच पुर्याउन नसकेको पनि ठूलो आलोचना छ । त्यो बेलाको धरानको साख फर्काउन धरानेहरूले चार दशकभन्दा बढी प्रयास गरे । पछिल्लो समय भने धरानले त्यो पुरानो साख पाउने सङ्केत देखिएको छ ।

धरान विगतमा सेउती र सर्दुको चेपमा थियो । अहिले भूगोल पनि फराकिलो भएको छ । वराहक्षेत्र नगरपालिका, साँगुरीगढी गाउँपालिका, इटहरी उपमहानगरपालिका, केराबारी गाउँपालिकाको केन्द्र भागमा धरान रहेको छ । ती छिमेकी स्थानीयसँग यातायातको सुविधा सहज बनाउन तथा व्यवसायिक सम्बन्ध स्थापित गर्न सङ्घीय सरकारको बजेटले करिब ६५ करोडको लागतमा पक्की पुलहरू निर्माण भइरहेको सुनसरी क्षेत्र नं. १ का सङ्घीय सांसद् जयकुमार राईले बताए ।

धरानलाई शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्र बनाउन सहयोग पुग्ने गरी सङ्घीय सरकारको पहलमा विभिन्न खोलाहरूमा पुलहरू निर्माणको क्रममा रहेका छन् । उनका अनुसार धरानको माथिल्लो पानबारी हँुदै मोरङको केराबारी जोड्न धरान–६ मा रहेको अँधेरी खोलामा ७ करोड ५० लाख लागतमा पुल निर्माण धमाधम भइरहेको छ ।

यस्तै ४ करोड ५० लाख लागतमा धरान–पानबारीबीचको सेउतीमा पुल निर्माण अन्तिम चरणमा रहेको छ । कार्की बन्धु कन्स्ट्रक्सनले ठेक्का पाएको पुल अन्तिम चरणमा रहेको सांसद् राईले जानकारी दिए । यो निर्माणसँगै केराबारी क्षेत्रको उत्पादन धरानसम्म ल्याउन सहज हुनेछ ।

धरानदेखि उत्तर–पूर्व हर्दिया दानाबारी हुँदै धनकुटाको राजारानीलाई जोड्न सेउतीमै ३ करोड ३१ लाखको लगानीमा पुलको लागि ठेक्का आह्वान भएको छ । पिलरमात्र बनाएर त्यतिकै रहेको स्थानमा सङ्घीय सरकारको बजेटमा पुनः निर्माणका लागि ठेक्का आह्वान गरिएको हो ।

त्यस्तै धरान–विष्णुपादुका हुँदै धनकुटाको साँगुरीगढी गाउँपालिकाको आहालेसँग जोड्न ८ करोड ५० लाख लागतमा सर्दुको माथिल्लो भागमा पुल निर्माण कार्यअन्तर्गत पिलर लगाउने काम सकिएको स्थानीयले बताएका छन् ।

यता मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा–रामपुर जोड्न धरानकै सर्दु, पट्नाली खोला र ठकुरी खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेका छन् । रसुवा कन्स्ट्रक्सनले ३१ करोड ५० लाख लागतमा हालै पुल निर्माण सकेको हो । २५ करोड लागतमा सर्दुको पुल बनेपछि सुनसरीका वराहक्षेत्र र रामधुनी नगरपालिकाबाट धरान आउने कृषिउपज तथा खाद्यान्न ढुवानीमा सहज भएको स्थानीयले बताए ।

बाढी आएको बेला वराहक्षेत्र नगरपालिकाका भरौल, कालाबञ्जार, महेन्द्रनगर, नडाहाका कृषकले तरकारी, दूध बेच्न धरान आउँदा सर्दु खोलाले अवरोध गर्दै आएको थियो । तर हाल पुल निर्माण भएपछि सहज भएको दूध व्यापारी सीताराम विष्टले बताए । त्यहाँका बालबालिकाहरूलाई धरानका विद्यालय आउन पनि सहज भएको छ ।

धरानलाई रामधुनी नगरपालिकासँग जोड्न धरान र रामधुनी–७ स्थित तेतरियाटोलस्थित सेउती खोलामा १० करोड लगानीमा अर्को पुल निर्माण भइरहेको छ । तीनवटा पुल निर्माण भइसकेको र ७ वटा अन्तिम चरणमा रहेको सांसद् राईले जानकारी दिए । धरानको समृद्धि ल्याउने यी आयोजना यो वर्ष सम्पन्न हुने उनको भनाइ छ ।

धरानको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारयुक्त धरानको नारालाई साकार पार्न यी आयोजनाहरू महŒवपूर्ण भएको नेकपाका जिल्ला सदस्य तथा धरान उपमहानगरका मेयरका प्रत्यासी प्रकाश राईले बताए । ‘धरानको साख फर्काउन नेकपाका सांसद् जयकुमार राईको पहलमा अर्बौंको योजना धरानमा आएका छन्’ मेयरका प्रत्यासी राईले भने, ‘यी आयोजनाहरू सम्पन्न भएसँगै धरान शिक्षा स्वास्थ्य, व्यापारको हब बन्नेछ ।’

पुल निर्माणसँगै मोरङ, सुनसरी, धनकुटा, उदयपुरका ग्रामीण क्षेत्रका बासिन्दालाई समेत धरान बजारसम्म सिधा सम्पर्क र व्यापार–व्यवसाय गर्न सहज हुने नेकपा धरान उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदीले बताए । भारत सरकारको लगानीमा भेडेटार–रवि–राँके सडक, नेपाल सरकारको लगानीमा बन्दै गरेको मदन भण्डारी राजमार्ग र एडिबीको सहयोगमा बन्दै गरेको त्रिदेशीय व्यापारिक राजमार्ग रानी–किमाथाङ्का सडक धरानसँग जोडिने भएकाले धरान एउटा व्यापारिक केन्द्रसमेत बन्नेछ ।

धरानमा एसियाकै ठूलो अस्पताल तथा मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । केन्द्रीय प्रविधि क्याम्पस, इञ्जिनियरिङ कलेज, महेन्द्र बहुमुखी क्याम्पसलगायत टेक्निकल कलेजहरू रहेका छन् । सबै क्षेत्रमा सडकले छोएको यस क्षेत्रमा पुल निर्माणसँगै यहाँका सेवा सुविधा लिन छिमेकी स्थानीय तहका बासिन्दाहरूलाई सहज हुनेछ ।