बिर्तामोड/ बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणमा ढिलाइ भएको भनेर आलोचना भइरहेको समयमा निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा थप हुने भएको छ ।

०७५ असारमा २७ करोड बढी रकममा ललितपुरको आशिष–प्रेरा जेभीले निर्माणका लागि ठेक्का लिएको सडकको निर्माणकार्य सुस्त भइरहेको भन्दै आलोचना भइरहेको समयमा ७ महिना थप हुने पाइएको हो । पछिल्लो सम्झौता बमोजिम ०७७ असार मसान्तसम्ममा ठेकेदार कम्पनीले सडक निर्माण गर्नुपर्नेछ ।

पहिलो सम्झौतामा बिर्तामोडको मुक्तिचोकदेखि भद्रपुर रोडको २.८ किलोमिटर सडक ४ लेनको र बाँकी १.२७ किलोमिटर दुई लेनको निर्माण गर्ने रहेको थियो । त्यसको अवधि पुष मसान्तमा समाप्त हुँदै छ । तर, प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार सदरमुकाम जोड्ने तराईका सबै सडक ४ लेनको बनाउनुपर्ने भएको थियो । सोही सम्झौता अनुसार दुई लेनको सडकलाई चारलेनको बनाउन ठेक्का थप गरिएको डिभिजन सडक कार्यालय दमकका इन्जिनियर चण्डेश्वर शाहले जानकारी दिए । थप गरेको ठेक्का बमोजिम निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा पनि ७ महिना थप हुने उनले बताए ।

‘जिम्मेवारी थप भएपछि समय पनि बढ्छ, शाहले भने–‘६ महिना म्याद थप गर्दा थपिएको जिम्मेवारी बमोजिम सडक बन्नुपर्छ ।’ उनले यो अवधि थपलाई म्याद थप गरिएको भनेर भनिराख्नु नपर्ने बताए । शाहले तदारुकताका साथ काम शुरु गर्न ठेकेदार कम्पनीलाई निर्देशन गरिएको जानकारी दिए । लामो समय बाटो नबन्दा बिर्तामोडको भद्रपुर रोडको जनजीवन कष्टकर हुँदै गएको छ ।

सवारी साधनले उडाउने धुलोका कारण यहाँको व्यापार व्यवसाय प्रभावित भएको हो । व्यापार व्यवसाय मात्र होइन, यहाँबाट हिँड्ने बटुवाको स्वास्थ्यमा गम्भीर असर पुग्दा पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको भन्दै व्यवसायीले बुधबार बिर्तामोड–भद्रपुर सडक खण्डमा आवत जावत अवरोध गरेका छन् । उद्योग वाणिज्य सङ्घ बिर्तामोडको नेतृत्वमा बिर्तामोड–भद्रपुर सडक खण्डमा एक घण्टा चक्काजाम गरिएको हो ।

सडक निर्माणमा लापरवाही तथा ढिलाइ भएको भन्दै व्यवसायीले निर्माणलाई तत्काल सम्पन्न गर्न माग गर्दै विरोध जनाइरहेका छन् । सडक निर्माणमा लापरवाही हुँदा व्यापार व्यवसायमा समेत असर पुर्याएकोले व्यवसायी सडकमा निस्केका हुन् । उनीहरूले सडक आसपासमा रहेका व्यवसायीले धुलोका कारण आम व्यवसायी र सर्वसाधारणमा प्रतिकुल असर पु¥याएको बताएका छन् । सडक बन्द गरेर आयोजना गरिएको कोणसभामा सम्बोधन गर्दै वाणिज्य सङ्घका उपाध्यक्ष राजु न्यौपानेले तत्काल सडक निर्माण सम्पन्न नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । उनले स्थानीय सरकारले समेत सडक निर्माणमा चासो नदिएको आरोप लगाएका थिए ।

सडक अवरोधपछि व्यस्त हुने भद्रपुर–बिर्तामोड सडक खण्डमा आवतजावत प्रभावित बनेको थियो । ललितपुरको आशिष–प्रेरा जेभीले निर्माण गरिरहेको सो सडक खण्ड निर्माणमा ढिलासुस्ती भइरहेको छ । सो कम्पनीले निर्माण अधुरो छोड्दा आम नागरिकको जनजीवन नै प्रभावित बनिरहेको छ । २७ करोडमा ठेक्का लिएको कम्पनीले ०७५ असोज महिनादेखि काम थालेको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको कम्पनीसँग अब काम सक्न ६८ दिन बाँकी छ ।