विराटनगर /  पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको सहिद परिवारलाई प्रदेश १ सरकारले जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहिबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
२०३६ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वमा भएको हत्याकाण्डमा मारिएका १६ जनाको परिवारलाई राहत दिने प्रदेश सरकारले निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्को बैठकले मोरङ, झापा, पाँचथर, धनकुटा, ओखलढुंगा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालय अन्तर्गत रहने गरी प्रदेश लेखा इकाइ स्थापना पर्ने निर्णय गरेको छ ।
यस्तै धरानमा स्थापित वन निर्देशनालयमा दशौं तहका रविन्द्र महर्जनलाई कायममुकायम जिम्मेवारी दिने, प्रदेश यातायात निर्देशनालय गठन नभइसकेकोले मन्त्रालयले नै सो काम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
बैठकले कार्तिक २९ गते अन्तर्राष्ट्रिय चलचित्र महोत्सव धरानमा आयोजना गर्ने, प्रदेश योजना आयोग –गठन तथा कार्य संचालन) आदेश २०७५ को अनुसूची–२ थप गर्ने, प्रदेश समपुरक अनुदान सम्बन्धी कार्यविधि संशोधन गर्ने, मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका अन्य शर्त सम्बन्धी ऐन संशोधन गर्ने र सामाजिक विकास मन्त्रालय योजना तथा कार्यक्रम (संंचालन) कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।