वराहक्षेत्र/तिरुपती बालाजीको दर्शन अब नेपालमै गर्न सकिने भएको छ ।

प्राचीन हरिद्वार वराहक्षेत्र चतराधाममा भारत आन्ध्र प्रदेशको तिरुपती बालाजीको प्रतिरूप निर्माण गरिने भएपछि अब नेपालमै दर्शन गर्न सकिने भएको हो । वराहक्षेत्र–२ पुनर्वास क्षेत्रमा बुधबार प्रदेश १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले शिलान्यास गरे । शिलान्यासका क्रममा मन्त्री कार्कीले वराहक्षेत्रलाई बृहत् कुम्भ क्षेत्रको रूपमा विकास गर्ने नीति बनाएको बताए । बालाजीको मन्दिर निर्माण हुनु स्वेदशबासीका लागि सुखद् रहेको उनले बताए ।

करिब २२ कठ्ठा जग्गामा मन्दिर निर्माण हुन लागेको छ । जसको लागत करिब १५ करोडको अनुमान गरिएको छ भने पाँच वर्षभित्र मन्दिर निर्माण गरिसक्ने लक्ष्य लिएको स्वामी हरिप्रपन्नाचार्यले बताए । बालाजी मन्दिरमा सत्सङ्ग हल, वातानुकूलित ४० वटा कोठा भएको आश्रम, सिंहमूर्तिसहितको प्रवेश द्वार, गौशाला, वेदान्त दर्शन, सङ्गीत, कला प्रशिक्षणसमेत गराइने भएको छ ।

त्यस्तै आयुर्वेदिक विषयमा स्नातक तथा स्नातकोत्तर तहसम्म पढाइ हुने विश्वविद्यालय स्थापना गरिने तिरुपती बालजी दिव्यधाम निर्माण समितिका अध्यक्ष हरिप्रपन्नाचार्यले बताए । मन्दिर निर्माणको ठेक्का काठमाडौंको भुषण खरेलले लिएका छन् । मन्दिर निर्माणमा १० करोड खर्च हुने बताइएको छ भने आश्रम निर्माणका लागि थप ५ करोड खर्च लाग्ने महासचिव चेतप्रसाद बरालले बताए ।