धरान । सरकारले सातै वटा प्रदेश प्रमुखको जिम्मेवारी तोकेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सात वटै प्रदेशका प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सिफारिस भएका नामहरू मध्ये प्रदेश १ मा कास्कीका सोमथान प्यासीलाई नियुक्त गरेको छ ।

त्यस्तै प्रदेश २ का लागि बाँकेको तिलक परियारलाई प्रमुखमा नियुक्त गरेको हो । साथै प्रदेश ३ मा झापाका विष्णु प्रसाईं, गण्डकी प्रदेशमा चितवनका अमिक शेरचन, प्रदेश ५ मा सिरहा जिल्लाका धर्मनाथ यादव, कर्णाली प्रदेशमा डडेल्धुराका गोविन्द कलौनी, र सुदूरपश्चिम प्रदेशमा काठमाडौंकी शर्मिला त्रिपाठीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदले नियुक्तिका लागि सिफारिस गरेपछि राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति दिएकी हुन् । त्यसो त सोमबार बिहान बसेको नेकपाको सचिवालय बैठकले सात प्रदेशको प्रमुख नियुक्तमा सिफारिस गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सात वटै प्रदेशका प्रमुखको पदमुक्त गरेको छ ।

(यसअघिकाे समाचारमा हामीले प्रदेश १ काे प्रदेश प्रमुखमा विष्णु प्रसाईंकाे नाम उल्लेख गरेका थियाैं । झापा निवासी भएकाले प्रदेश १ मा प्रदेश प्रमुख बनाउने सम्भावना भएकाे भनी जानकारी प्राप्त भएकाले साेही अनुसार हेडलाइन समाचार प्रकाशित गरेकाे कुरा पाठकसमक्ष जानकारी गराउँछाैं । पाठक वर्गमा पर्न गएकाे भ्रमप्रति हामी क्षमा चाहन्छाैं-सम्पादक)