रङ्गेली । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटका लागि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एकलौटी योजना ल्याएपछि मोरङ निर्वाचन क्षेत्र–६ का सांसद् र स्थानीय तह प्रमुखले बैठक बहिष्कार गरेका छन् ।

मोरङ क्षेत्र नं. ६ का लागि चालू आर्थिक वर्षमा ६ करोड बजेट आएकोमा सबै योजना मन्त्री एक्लैले ल्याएको भन्दै समितिका सदस्यहरूले बैठक बहिष्कार गरेका हुन् । अघिल्लो आर्थिक वर्षको बजेट पनि मन्त्रीले आफूखुशी खर्च गरेको र यस वर्ष पनि आफूहरूका योजनालाई बेवास्ता गर्र्दै आफ्नो मात्र ल्याउन खोजेको प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौलाले गुनासो गरिन् ।

विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूले बजेट कार्यान्वयन सम्बन्धमा बसेको बैठक बहिष्कार गरेको उनीहरूले बताएका थिए । बैठकमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसमेत सहभागी थिए । अघिल्लो आर्थिक वर्षको ४ करोड रुपैयाँ आफूखुशी बाँडेको राष्ट्रियसभाका सदस्य रमेशजङ रायमाझीले आरोप लगए । यस वर्षको ६ करोड पनि मन्त्री पण्डितले आफूखुशी कार्यकर्ता पोस्ने गरी एकलौटी योजना ल्याएको उनको तर्क छ ।

मोरङ क्षेत्र नं. ६ मा विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका र बूढीगङ्गा गाउँपालिका रहेका छन् । क्षेत्र नं. ६ को पूर्वाधार विकास अन्तर्गत आएको ६ करोड तीनवटै स्थानीय तहलाई २–२ करोड बाँड्ने सहमति भएको थियो । सहमति विपरीत मन्त्री पण्डितले एकलौटी योजना ल्याएको उनीहरूले पत्रकार सम्मेलनमा बताए । यसअघि सामान्य समितिका संयोजक एवम् सामान्य प्रशासन मन्त्रीले तीनवटै स्थानीय तहलाई योजना ल्याउन भनेकोले त्यहीअनुसार योजना ल्याएको डा.सङ्ग्रौलाले बताइन् ।

साझेदारीमा गर्नुपर्ने काम भए पनि मन्त्रीले एकलौटी गर्न खोजेको उनले आरोप लागाइन् । विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका र बूढीगङ्गा गाउँपालिको लागि ३ करोडको योजना बनाएको प्रतिनिधि सभासदस्य सङ्ग्रौलाले बताइन् । मन्त्री पण्डितलाई ३ करोडको योजना ल्याउन छाडिदिए पनि एकलौटी गर्न खोजेको उनले आरोप लागाइन् ।

स्थनीय तहबाट आएको योजना कार्यान्वयनमा जानुपर्ने सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकालले बताए । त्यसो नगरिएको खण्डमा कार्यान्वयनमा पनि समस्या खडा हुने उनले बताए । मन्त्री आफैले आयोजना ल्याउने भए आफूहरूलाई योजना ल्याउन लगाउनुको कुनै औचित्य नभएको बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालाचन्द माझीले बताए । ‘अघिल्लो आर्थिक वर्षमा पनि मन्त्रीले आफूखुशी गरे, यस वर्ष पनि त्यसै गर्न लागेका छन्’ उनले भने, ‘यस्तै हो भने आउने वर्षबाट कुनै बैठक छलफलमा म सहभागी हुन्न ।’

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्यक्ष निर्वाचित सांसद्को संयोजनमा समिति बन्ने गर्छ । त्यसमा स्थानीय तह र समानुपातिक सांसद् सदस्य रहने व्यवस्था रहेको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बताए । समितिको कार्यविधिअनुसार बजेट स्थानीय तहमा जाने व्यवस्था रहेको छ । समितिमा मन्त्री पण्डित नेकपाको भए पनि अरू सबै सदस्य नेपाली काङ्ग्रेसका रहेका छन् ।