धरान / आगामी मंसिर १४ गते हुने निर्वाचनका लागि धरान उपमहानगरपालिकाको रिक्त रहेको मेयर पदका लागि प्रायः सबै दलहरुले उम्मेद्वारको टुङ्गो लगाए पनि प्रमुख सत्तारुढ दल नेकपाले भने टुङ्गो लगाउन सकेको छैन् ।
नेपका केन्द्रीय कमिटीले कार्तिक १० गते भित्र उम्मेद्वारको नाम सिफारिस गर्न मातहतको कमिटीलाई निर्देशन गरेको थियो । मेयरका आकाक्षी धेरै भएका कारण नेकपा धरान उपमहानगर कमिटीले उम्मेद्वार टुङ्गो लगाउन नसकेको हो ।
एक जना व्यक्तिमा सर्वसहमति गराउने अभ्यास भइरहेका कारण ढिलाई भएको नेकपाका एक नगर सचिवालय सदस्यले जनाएका छन् ।
एकल नाम सिफारिस गर्ने तयारी
मेयरको आकाक्षी नगर अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म गरेर झण्डै एक दर्जन आकाक्षी रहेका छन् । केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मनोजकुमार मेयाङम्बो, मुकेश मेयाङम्बो, आइन्द्रविक्रम बेगा, जिल्ला सदस्यहरु प्रकाश राई, पदम इस्वो(लिम्बु), तीर्थ मास्के, चोत्लुङ, अशोक राई, नगर अध्यक्ष नारायण सुवेदी, मजदुर नेता मोतिराज सुनुवारलगायत आकाक्षी रहेका छन् । यि मध्यबाट एक जना मात्र जिल्ला कमिटीलाई सिफारिस गर्ने तयारी नगर कमिटीकाे रहेको छ । नगर कमिटीको आज २ बजे पार्टी कार्यालयमा सचिवालय बैठक बोलाइएको नेकपा श्रोतले जनाएको छ । सबै सचिवालय सदस्यहरुलाई अनिर्वाय उपस्थितका लागि ह्वीप जारी भएको बताइएको छ । जिल्ला, प्रदेश र केन्द्रसम्म जिल्ला कमिटी सदस्य प्रकाश राईलाई साथ रहेको भन्दैं नगरले प्रकशको नाम सिफारिस गर्ने तयारी गरेको श्रोतले बताएको छ । ‘लगभग प्रकाश राईमा सहमति हुन्छ ।’– नेकपाका एक सदस्यले भने–‘धेरै जानकाे नाम आएका छ । तर सबै कमरेडहरुमा प्रकाश राई माथि सहमति गर्नुुृहुन्छ ।'
चोत्लुङ र बेघा विच द्वन्द्व
त्यसो त पूर्व माओवादी तर्फबाट चोत्लुङ र आइन्द्रविक्रम बेघाले आफुहरुको नाम सिफारिस हुनु पर्ने बताउदैं आएको श्रोतले बताएको छ । चोत्लुङ र बेघा विच नै आन्तरिक द्वन्द्व रहेको अर्का एक नेताले बताए । दुवैले एकले अर्कालाई सिफारिस नगरे आफु छाड्ने बताउदैं आएको ती नेताले बताएका छन् । उनीहरुकाे द्वन्द्वका कारण नगर कमिटी गठनमै ढिलाई भएकाे थियाे । 

काङ्ग्रेसलगायत साना दलहरुको उम्मेद्वार तयार
नेपाली काङ्ग्रेस, संघीय समाजवादी पार्टी, संघीय लिम्बुवान पार्टीलगायतले आफ्नो पार्टीको उम्मेद्वार घोषणा गरिसकेका छन् ।
पछिल्लो समय उपनिर्वाचनमा मेयर पदको लागि नेपाली कांग्रेसले तिलक राईलाई उम्मेदवार बनाउने काङ्ग्रेस नगर कमिटिले निर्णय गरिसेको छ ।
उपमहानगर कमिटिको पुर्ण बैठकले नगरसभापति समेत रहेका तिलक राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । यसअघि मेयरको उम्मेदवारमा कांग्रेस जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र गोले तामाङ र महाधिवेशन प्रतिनिधि पर्वत राई पनि आकांक्षी थिए । तर समझदारीमा राईलाई उम्मेद्वार बनाउने गरि जिल्ला केन्द्रलाई सिफारिस गरिएको हो ।
सभापति राई यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार रहनु भएको थियो । उहाँ तारा सुब्वासँग परासिजत हुनु भएको थियो । उम्मेद्वार सिफारिससँगै पार्टीले घरदैलो अभियान थालेको सभापति तिलक राईले जानकारी दिनु भयो । काङ्ग्रेसले तिहारमा गाउँगाउँमा अभियान संचालन गरिरहेको छ ।
यता मेयर पदको उपनिर्वाचनको लागि संघीय समाजवादी पार्टीले भूपू शैनिक अभियान्ता गजेन्द्र इस्वोलाई सिफारिश गरेको छ । स्वतन्त्र उम्मेद्वारको रुपमा धरान–१८ का हर्क साम्पाङ राईले पनि मेयरको उम्मेद्वारी घोषणा गरेका छन् ।
यस्तै संघीय लिम्बुवान मञ्च नेपालले जिल्ला अध्यक्ष अमर इजमलाई उम्मेद्वारका लागि सिफारिस गरेको पार्टीले जनाएको छ ।
एक बर्ष अघि मेयर तारा सुब्वाको निधन भए पछि धरानमा मेयरको जिम्मेवारी उपमेयर मञ्जु भण्डारीले सम्हाल्दैं आएकीछन् ।
धरान उपमहानगरमा मेयर र वाड नंं ७ को वडा अध्यक्षका लागि निर्वाचन हुदैं छ । वडा अध्यक्ष भूवन मुक्तान र मेयर सुब्वाको गत बर्ष मृत्यु भए पछि मेयर र वाड अध्यक्षको पद खाली भएको हो ।