भण्टाबारी/ सुनसरीको हरिनगर गाउँपालिका क्षेत्रका एक परिवार समाजबाट बहिष्कृत भएको छ ।
लामो समयदेखि चल्दै आएको दाजुभाइको आपसी झगडाका कारण समाजले बहिष्कार गरेको हरिनगर गाउँपालिका वडानम्बर ३ मेहता टोलका रामदेव मेहताले गुनासो गरेका छन् ।
चार दाजुभाइमध्ये सबैभन्दा कान्छो आफू भएको बताउँदै रामदेवले आफ्ना ठूला दाजुहरूले गलत लाञ्छना लगाएर समाजबाट बहिष्कृत गराएको भन्दै न्यायको लागि अपिल गरेका छन् । उनीहरूभन्दा आफू गरिब भएको हुँदा समाजका अगुवाहरूलाई प्रलोभनमा पारेर आफ्नो पक्षमा पारी ५ महिनायता आफूहरूलाई समाजबाट बहिष्कार गराएको रामदेवले आरोप लगाए । छोराले २०७५ फागुन महिनामा प्रेमविवाह गरेको भन्दै गाउँका भद्रभलाद्मीले नै मेहता समुदाय र समाजबाट बहिष्कार गराएको रामदेवको कथन छ ।
छोराको विहे गर्दा समुदायलाई नसोधी गरेको, समाजको कुरा नमानेको सहितका विभिन्न आरोप लगाई गाउँमा आफ्नो परिवारलाई नाकाबन्दीसरह गाउँलेले व्यवहार गरेको रामदेवको भनाइ छ । उनका अनुसार विगत ५ महिनायता गाउँका पसलेले सामान दिन नमानेको, छरछिमेकीले बोलचालसमेत बन्द गरेको छ । मेहता समुदायले गाउँमा हुने विवाह तथा श्राद्धका बेला गरिने स्वजाति भोज कार्यक्रममा समेत सहभागी हुन नदिई प्रतिबन्धको शिकार बनेको रामदेव परिवारको गुनासो छ ।
आफन्त, छरछिमेकी तथा समाजले आगो–पानी बन्द गर्नुका साथै गाउँको पसलमा सामान किन्नबाट बञ्चित गर्ने गरी बहिष्कार गरेकोले अन्यायविरुद्ध आवाज उठाइदिन रामदेवकी बुहारी पिङ्कीकुमारी मेहताले आग्रह गरेकी छन् । नागरिकको स्वतन्त्रपूर्वक बाँच्ने अधिकारको हनन् भएकोले त्यसमा कानूनी, व्यवहारिक र सामाजिक न्यायका लागि पहल गर्न उनले अपिल गरिन् ।
न्यायको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक नेपाल, इलाका प्रहरी कार्यालय हरिनगरमा निवेदन दिएको पिङ्कीले बताइन् । पटक–पटक स्थानीय प्रहरीलाई यसबारेमा ध्यानाकर्षण गराउँदै आए पनि पीडितलाई न्याय दिलाउन प्रहरीले पहल नगरेको उनले गुनासो गरिन् । यता गाउँका स्थानीय अगुवा तथा सीताराम आधारभूत विद्यालयका प्रधानाध्यापक परमेश्वर मेहताले रामदेवकी श्रीमती तेतरीले जेठाजुलाई कुटेका कारण सामाजिक रूपमा बहिष्कार गरिएको बताए ।
जेठाजु कुटेर गलत गरेको हुँदा गाउँका अगुवाहरू रामदेव परिवारको विपक्षमा देखिएको उनले बताए । हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले समाजबाट कसैलाई बहिष्कार गरिएको बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । सामाजिक बहिष्कार गरिएको बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कतैबाट उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।
































