पथरी । दशैं, तिहारको नाममा पशुपंक्षी हत्या नगर्न र देवताको नाममा मारिएका पशुको आत्मा शान्तिको कामना गर्दै मोरङको पथरीशनिश्चरे–१०, स्थित ओम सियार जम्मुलिङ बज्र गुम्बामा २१ दिने विश्व शान्तिपूजा भईरहेको छ । विश्व शान्तिपूजा सँगै नेपाल तामाङ लामा घेदुन संघीय कार्यालयले लामाको पनि तालिमको आयोजना गरेको छ ।

नेपाल तामाङ लामा घेदुन संघीय कार्यालयको आयोजना र गुम्बाको ब्यबस्थापनमा असोज १८ देखि कार्तिक १० गतेसम्म कार्यक्रम हुने आयोजक समितिका ब्यबस्थापक चन्द्र तामाङले बताए । मानवीय सुख, शान्तिको नाममा बलि भोग दिदा पाप लाग्ने कुरा चेतना जगाउदै चाड पर्बको नाममा हत्या भएको पशुपंक्षीको आत्मा शान्तिको लागि कामना गर्दै विश्व शान्तिपूजा गरेको बताए ।

कार्यक्रममा लामा पाल्देन योन्जनसहित ७ जना गुरुहरुले दैनिक पुजा, ध्यान, व्रत बस्दै आएका छन । लोभ, क्रोध, मोहबाट मुक्त भए बुद्धत्व लाभ गर्न सकिने कुरा गुरुहरुले उपस्थित भक्तजनहरुलाई शिक्षा दिने गरेको स्थानीय बालकुमार तामाङले बताए ।

यही कार्यक्रम अन्तरगत १ नम्बर प्रदेश भरिको १ सय २ जना लामा र आनिहरुलाई योग ङोण्डो, कोन्छोग्चिदुङ र थुजेछेन्पो लामा तालिम समेत हुँदै आएको छ । ङोण्डो कोर्ष पूरा गर्नेहरुले छेवरसम्म गराउन सक्ने बताइएको छ ।