भद्रपुर/ दसैंलगतै तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाका सीमावर्ती नाकाबाट बारुदजन्य पटका (विस्फोटक पदार्थ) नेपाल भित्र्याउन शुरु गरेका छन् । नेपालमा प्रतिबन्धित बारुदजन्य पटका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर नेपाल भित्राउन थालेका हुन् ।

भारतको विहारसँग सीमा जोडिएको झापाका खुल्ला नाकाबाट ठुलो परिणाममा पटका नेपाल भित्रिदै आएको विगत वर्षहरुले पनि पुष्टि गरिसकेको छ । यसै क्रममा झापाको कचनकवल नाकाबाट भित्राइएको ठुलो परिणामको पटकासहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल २ नम्बर गण झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले हल्दीबारी गाउँपालिका ५ स्थित डाँगागाँउबाट दुई बोरा जगमग पटकासहित मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरीका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

मे १ प ३७१३ नम्बरको मोटरसाइकलमा हालेर बिर्तामोडतर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पटका बरामद गरेको डिएसपी भण्डारीले बताए । बरामद गरिएको पटकाको नेपाली बजार मूल्य एकलाख रहेको छ । पटकालाई बिहीबार बिहान सशस्त्र प्रहरी बल २ नम्बर गण झापामै सबै सरोकारावाला निकायको रोहबरमा नष्ट गरिएको उनले बताए ।

यता बरामद गरिएको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार बुझाइने उनको भनाई छ । तिहार र छठ पर्वलाई लक्षित गरी बारुद जन्य पटका तस्करीको माध्यमबाट भित्राउने योजना रहेकोले यसलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी सीमा क्षेत्रमा परिचालन गरिसकेको उनले बताए ।

यसअघि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित तुर्केनीबाट अन्दाजी एकलाख बराबरको विस्फोटक पदार्थ बरामद गरेको थियो । त्यस्तै प्रहरीले कनकाई नगरपालिका ५ स्थित सुरुङगाबाट अन्दाजी ७० हजार मूल्य बराबरको २९ बण्डल पटका बरामद गरी नष्ट गरिसकेको जनाइएको छ ।