यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार पार्किङ अभावले अस्तव्यस्त बन्दै गएको छ ।

बजारमा दैनिक दर्जनौ सवारी साधन आइपुग्ने गरेका छन् । तर, पार्किङ अभावमा जथाभावी सवारी राखिदिँदा समस्या हुने गरेको छ । दशैंका बेलामा ग्रामीण भेगबाट हटिया भर्न बजारमै स्थानीय आइपुग्ने भएकाले पार्किङ नहुँदा बजार भद्रगोल हुने गरेको छ ।

स्थानीय तहले पनि सवारी साधनको लागि पार्किङ स्थल व्यवस्थापनमा चासो देखाएको छैन । बजार पनि अव्यवस्थित नै छ । हटियाको समयमा पनि बजारको बीचबाटै सवारी साधन आवतजावत हुने कारण थप भद्रगोल बनेको व्यवसायीहरू बताउँछन् । यासोक बजारमा लामो र छोटो दूरीका सवारी साधनको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

एकातर्फ सवारी साधनको चाप बढ्दै गए पनि स्थानीय तहले दीर्घकालीन व्यवस्थापनका लागि योजना नल्याउँदा समस्या भइरहेको स्थानीय व्यवसायी तेजबहादुर बोहोराले बताए । बजारको बीचमा पूर्वमन्त्री पद्मसुन्दर लावतीको शालिक राखिएको छ ।

बजारको पार्किङ स्थलको विषयमा गाउँपालिकाले योजना बनाउँदै गरेकाले यो समस्या चाँडै हल हुने कुम्मायक १ का वडाध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । बजारमा सार्वजनिक र व्यक्तिगत जग्गा भएकाले पहिचान गरेर समस्याको समाधान गरिने उनले बताए ।

yasok-bazar