उदयपुर/ अविरल वर्षाले उदयपुरको पहाडीभेगका सडक अवरुद्ध भएपछि दशैँमा गाउँ फर्कने यात्रुहरू पैदल यात्रा गर्न बाध्य भएका छन् ।

सदरमुकाम गाईघाटबाट उत्तरी, पश्चिमी र पूर्वी पहाडी भेगका गाउँबस्ती पुग्ने सडक वर्षाले अवरुद्ध भएपछि दशैंमा घर फर्कने यात्रुहरू पैदल हिँड्न बाध्य भएका हुन् ।

गाईघाटबाट गाडी चल्ने सडक अवरुद्ध हुँदा लिम्चुङ्बुङ, ताप्ली, रौतामाई गाउँपालिकाका बासिन्दाहरू पैदल यात्रा गर्न बाध्य भएका छन् । गाईघाटबाट रानीबासहुँदै रौता, सल्ले जाने सडक–खण्डमा अहिले रानीबाससम्म मात्रै गाडी चल्ने भएकाले जिल्लाका उत्तरी विकट पहाडीभेगका बासिन्दाहरू सदरमुकाम आवत–जावतमा समस्या आएको स्थानीय सीताराम राईले बताए । त्यस्तै छिमेकी जिल्ला खोटाङको दक्षिणीभेगका अधिकांश गाउँबस्तीबाट दशैँको लागि आवश्यक सामान खरिद गर्न आउने मानिस सडक अवरुद्ध भएपछि पैदल हिँड्न बाध्य भएको स्थानीय राईले बताए ।

लिम्चुङ्बुङ गाउँपालिका जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएपछि विभिन्न ठाउँमा झरेको पहिरो पालिकाले पन्छाउने काम गरिरहेको छ । दशैँ, तिहारका लागि आवश्यक सामग्री ट्याक्टर र बोलेरोद्वारा ढुवानी हुँदै गरेको पालिकाले जनाएको छ ।

नेपालीहरूको महान् चाड दशैँ, तिहार मनाउनका लागि गाउँबाहिर रहेका पालिकाबासीहरू गाउँ फर्कन थालेकाले गाउँसम्म पुग्न सहज बनाउनका लागि पालिकाले अवरुद्ध सडक तीव्र रूपमा मर्मत सम्भार गरिरहेको लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए ।

सगरमाथा राजमार्गको रानीबाससम्म मात्रै गाडी सञ्चालन भएपछि रौतामाई गाउँपालिका र छिमेकी जिल्ला खोटाङका वराहा पोखरी, खोटेहाङ, दिप्रुङ चुईचुईमा गाउँपलिकाका स्थानीबासी पैदल यात्रा गर्न बाध्य भएको स्थानीय मोहन राईले बताए ।

विगत वर्षहरूमा रसुवा घाटसम्म यातायात सञ्चालन हुन्थ्यो । तर यसपालि वर्षाले सडक अवरुद्ध गरेपछि रानीबासबाट पैदल हिँड्नुबाहेक कुनै उपाय नभएको स्थानीय राईले बताए । रसुवासम्म बस चल्दा एकै दिनमा पुगिने ठाउँमा अहिले दुई दिनसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । वर्षापछिको पहिरोले सडक बगाएपछि यस्तो अवस्था आएको उनले बताए ।

यातायातको सुविधा भएपछि बसबाट यात्रा गर्ने मानिसहरू अहिले हिँड्नु पर्ने बाध्यता आएको छ । विगतका वर्षहरूमा वर्षायाममा पनि सञलनमा आएका सडक असारे विकासले गर्दा अवरुद्ध भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा सडक विस्तार गरेकाले वर्षाले हिलो भएपछि साना तथा ठूला सवारीसाधन सञ्चालनमा आउन नसकेको स्थानीय विजय राईले बताए । सडक अवरुद्ध भएपछि जिल्लाकै पर्यटकीय एवम् धार्मिकस्थल रौता पोखरीसम्म आवत–जावतमा समेत समस्या आएको उनले बताए ।