विराटनगर/ विराटनगरस्थित मधुमाराकी प्रिती सिंहको ३१ हप्ताको गर्भमा जुम्ल्याहा बच्चा रहेको थियो । १८ हप्ता पुग्दा एउटाको मृत्यु भएको र अर्का सकुशल रहेको थियो । चिकित्सा विज्ञानमा जुम्ल्याहा बच्चा शल्यक्रिया गरेर निकाल्नु त्यति नौलो घटना होइन । तर, पेटमै १८ हप्ता हुँदा जुम्ल्याहामध्येको एक शिशुको मृत्यु भए पनि अर्कोलाई ३१ हप्तामा सकुशल शल्यक्रिया गरेर निकाल्नु भने अलि जटिल कार्य हो ।

यस्तै जटिल शल्यक्रिया गरी सिंहको ३१ हप्ताको गर्भबाट बच्चा सकुशल निकालिएको छ । विराटनगरको सहकारी मार्गमा रहेको मोरङ सहकारी अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साहको टिमले सिंहको सफल शल्यक्रिया गरी नवजात शिशु बचाएको हो । प्रितीको पहिलो गर्भ तुहिएर दोस्रो पटक गर्भवती भएकी थिइन् ।

दोस्रो गर्भमा जुम्ल्याहा बच्चा रहेको थियो । जुम्ल्याहामध्ये एउटा ‘सिस्टिक हाइग्रोमा’ (धमनीको अवरोधले घाँटी सुन्निएर गर्भमा रहेको बच्चाको वृद्धि रोकिने प्रक्रिया) देखिएको थियो । यस्तो बच्चा गर्भमै खेर जाने वा जन्मिए पनि घाँटी फुलेर बाँच्ने सम्भावना कम हुन्छ । १५ हप्ताको गर्भवती हुँदा प्रितीको गर्भमा जुम्ल्याहा शिशु रहेको र एउटामा सिस्टिक हाइग्रोमा भएको पाइएको थियो । १८ हप्ता पुग्दा सिस्टिक हाइग्रोमा भएका शिशुको गर्भमै मृत्यु भएको थियो ।

‘प्रितीको पहिलो बच्चा पनि खेर गएको हुँदा उनको आँटले हामीले ३१ हप्तासम्म निगरानीमा राखेर अर्को बच्चालाई सकुशल शल्यक्रिया गरेर निकाल्न सक्यौं’ डा. साहले भने, ‘यति लामो समयसम्म गर्भमै मृत बच्चासँगै अर्को बच्चालाई जीवित राख्नु ठूलो चुनौति थियो ।’ १८ हप्तामा खेर गएको एउटा शिशु र सकुशल रहेको अर्को शिशुलाई शल्यक्रिया गरेर असोज १ गते निकालिएको थियो । जन्मदा १ केजी ४०० ग्रामकी नवजात बालिका रहेकी छन् । सफल उपचारपछि शुक्रबार नवजात छोरी र आमाको डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

१३ हप्तासम्म मृत शिशुलाई आमाको गर्भमै अर्को शिशुसँगै रहनुलाई चिकित्सा विज्ञानमा आमा र शिशुको स्वास्थ्यका हिसाबले चुनौतिपूर्ण मानिन्छ । यस्तो अवस्थामा आमा र अर्को जीवित बच्चाको ज्यान उच्च जोखिममा हुने वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतमले बताए ।

‘ट्वीन्स प्रेग्नेन्सीमा एक बच्चा मर्यो भने अर्को बच्चाको पनि मृत्यु हुने सम्भावना बढी हुन्छ’ उनी भन्छन्, ‘यस्तो अवस्थामा आमा र बच्चालाई बढी निगरानीमा राख्नुपर्छ ।’ मोरङ सहकारीमा जन्म दिएको नवजात शिशुको उपचारमा लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले सहयोग गरेको छ । १० दिनसम्म एनआइसियुमा राखिएको नवजात शिशुको कुल उपचार खर्चको २५ प्रतिशत सहयोग गरेको थियो ।