नयाँदिल्ली / भारतमा आएको पछिल्लो बाढीका कारण ४४ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् ।

अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन् । देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो ।
४८ घण्टासम्मको अवधिमा अत्यधिक वर्षा भएको र नदी किनारका क्षेत्रमा बढी असर गरेको अधिकारीहरुको भनाइ छ ।

‘गएरातिसम्ममा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि भएको छ, सरकारी अधिकारीहरुले खोजी तथा उद्धारका लागि प्रयास गरिरहेका छन्’, प्रकोप व्यवस्थापन प्रदेश कार्यालयका उपाध्यक्ष रवीन्द्र प्रताप साहीले भने ।
उनले बाढीबाट प्रभावित हजारौँ स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको र शरणार्थी शिविरहरुमा राखिएको पनि जानकारी दिए ।
प्रभावित क्षेत्रमा अरु ४८ घण्टासम्म पनि भीषण वर्षा हुने अनुमान गरिएको मौसमविद्हरुले जनाएका छन् ।