विराटनगर । प्रगतिशील गीत गाउने ७६ वर्षीय जनवादी गायक जेबी टुहुरेको एकल साङ्गीतिक साँझ हुने भएको छ ।

जेबी टुुुहुरे फाउण्डेसनको आयोजनामा शनिबार दिउँसो ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृह हलमा जेबी टुहुरे एकल साँझ हुने भएको हो ।
जेबी टुहुरे फाउण्डेसनले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी एकल साँझको तयारी तीव्र भएको जानकारी गराएको छ । विराटनगरमा हुने जेबी टुहुरको तेस्रो एकल साँझ रहेको फाउण्डेसनको अध्यक्षकी निर्भीका खड्गीले जानकारी दिइन् । एकल साँझमा गायक जेबी टुहुरेले चर्चित १५ वटा चेतना र सन्देशमूलक गीत प्रस्तुत गर्ने उनले बताइन् ।

चर्चित र स्थापित भएपनि जनवादी गीतसङ्गीतका ऐतिहासिक धरोहर एवम् परिवर्तनका संवाहक जनगायक टुहुरेको एकल साङ्गीतिक कार्यक्रममा पूर्णरूपमा निःशुल्क हुनेछ ।

गायक टुहुरेले यो उमेरमा पनि देशका सातवटै प्रदेशमा एकल साँझ गर्ने ध्येय लिएर प्रदेश १ मा कार्यक्रम आयोजना गरिएको फाउण्डेसनका कोषाध्यक्ष तथा राष्ट्रियसभा सांसद् खेम नेपालीले बताए । उनका अनुसार हालसम्म जनगायक जेबी टुहुरेले करिब १ सय ५० प्रगतिशील गीतहरू गाइसकेका छन् । टुहुरेले आधा दर्जन बढी चेतनामूलक गीतहरू समावेश गरिएको एल्बम् पनि निकालेका छन् ।

तत्कालीन संविधानसभा सदस्य तथा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको सभापतिसमेत रहिसकेका जनगायक टुहुरेको एकल साँझमा गायकहरू मधु गुरुङ, आकाश थापा र बिहानी विक अनि गङ्गा राईले साथ दिनेछन् । यस्तै भ्वाइलिनमा मनोहर सुनाम, सारङ्गीमा भरत नेपाली र हार्मोनियममा राजेश थापा र रिदममा भरत बुढाथोकीले सहयोग गर्नेछन् । एकल साँझको प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री शेरधन राई रहनेछन् भने मन्त्री, सांसद्लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ ।

जनगायक जेबी टुहुरेको योगदान र चेतनामूलक गीत–सङ्गीतबारे बुझाउन एकल साँझ आयोजना गरिएको फाउण्डेसनका सचिव वीरेन्द्र बस्नेतले बताए । उनका अनुसार जेबी फाउण्डेसनले प्रदेश १ मा चाँडै आधुनिक रेकर्डिङ स्टुडियो पनि निर्माण गर्दैछ । त्यसका लागि प्रदेश सरकारले ४० लाख बजेट पनि विनियोजन गरेको उनले जानकारी दिए ।