बेलबारी ।  मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा हुन लागेको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी पूरा भएको छ ।
असोज ४ गते शनिबारबाट हुन लागेको प्रतियोगिता असोज १० गतेसम्म हुनेछ ।

गोल्डकप सञ्चालनका आवश्यक प्राविधिक तथा व्यवस्थापनका सबैपक्ष तयारी भइसकेको गोल्डकप सञ्चालनका लागि गठित विभिन्न विभागीय उपसमितिले बताएका छन् । करिब २५ हजार दर्शकहरूले अवलोकन गर्ने बेलबारी गोल्डकप बेलबारीको गौरव कार्यक्रमको रूपमा लिइएको छ ।

गोल्डकपले खेलाडीहरूलाई उत्साह प्रदान गर्ने र यसठाउँलाई फुटबलको केन्द्रको रूपमा चिनारी गराउने अपेक्षा राखिएको अध्यक्ष विक्रम वान्तवा राईले बताए ।

गोल्डकपमा आयोजक क्लब लक्ष्मीमार्ग मोरङ, धरान फुटबल क्लब सुनसरी, झापा ११ झापा, एपिएफ काठमाडांै, मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौ,गोर्खा ब्वाइज क्लब, नेपाल पुलिस क्लब काठमाडौं र रोयल क्लब वेष्ट बङ्गाल भारत सहभागी हुनेछन् ।

उद्घाटन खेलमा आयोजक डाँगीहाट फुटबल क्लब र धरान फुटबल क्लब सुनसरी बीच हुने भएको छ । प्रतियोगितामा विजयी टिमले ५ लाख र उपविजेताले ३ लाख पाउनेछ । गतवर्ष विजेताले २ लाख २२ हजार र उपविजेताले १ लाख ११ हजार प्राप्त गरेका थिए । सोही पुरस्कार राशि यसपटक दोब्बर बनाइएको छ ।

खेलअवधिभर म्यान अफ दि म्याच र अन्य ६ वटा विधामा समेत पुरस्कार प्रदान गरिनेछ । गोल्डकपका लागि मुख्य प्रायोजक बुद्ध एयर, प्रायोजक टुर्बोग वियर र विशेष सहयोगी बेलबारी नगरपालिका रहेका छन् ।