बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस् अवार्ड’ तेस्रो संस्करणको मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।

मञ्चले ‘झापा स्पोर्टस् अवार्ड २०७५’ का लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीन तीनजना प्रतिभा शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

जसअनुसार ‘झापा स्पोर्टस् अवार्ड २०७५’ को मनोनयनमा पर्न सफल प्रतिभाहरु वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन), नवयुग श्रेष्ठ (फुटबल) छन् । त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला) मा एस्तर राई (कराते), अन्जिला तुम्बापो सुब्बा (फुटबल), बिनिता बुढाथोकी (भलिबल) छन् । वर्ष उत्कृष्ट खेलाडी (युवा) विधामा छिरिङ गुरुङ (फुटबल), अप्सरी बेगम (क्रिकेट), अमिता गिरी (ब्याडमिन्टन) मनोनयनमा परेका छन् । त्यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकमा हरि खड्का (फुटबल), डम्बर लिम्बू (बक्सिङ), योगेश चम्लिङ (कराते) परेको ‘झापा स्पोर्टस् अवार्ड २०७५’ तथा प्रतिभा छनोट समितिका संयोजक बुद्ध तामाङले जानकारी दिए ।

वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अध्यक्ष खरेलका अनुसार पिपुल्स च्वाइस र लाइफ टाइम अचिभमेन्ट अवार्डका विजेता कार्यक्रम हुने दिन सिधै घोषणा गरिनेछ । उनीहरुले क्रमशः नगद २५ हजार र ३५ हजार रुपैयाँ पाउनेछन् ।

‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण असोज १३ गते सोमबारका दिन बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुनेछ । अवार्डलाई स्थापनाकालदेखि नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना भाइ पूर्वफुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा एक लाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।

त्यस्तै, सहारा नेपाल साकोसले नगद दुई लाख रुपैयाँ प्रदान गरेको थियो । अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका खेलाडी र प्रशिक्षकलाई सहभागी गराइन्छ ।