पाँचथर/ जिल्लाको फिदिम नगरपालिका–९, लुम्फाबुङ र फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडाबासीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको लुम्फाबुङ–नवमीडाँडा लिफ्टिङ खानेपानी आयोजनाको शनिबार शिलान्यास भएको छ ।

आयोजनाको प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गरेका हुन् । निभुखोलाको पानी लिफ्टिङ प्रविधि मार्फत गाउँसम्म पु¥याउन लागिएको हो । उक्त आयोजनाबाट आठ सय ४४ घरधुरीका ३ हजार ९ सय ७७ जनसङ्ख्या लाभान्वित हुनेछन् । २०७८ असार २९ गते सम्पन्न गर्ने गरी खानेपानी तथा सरसफाई डिविजन कार्यालय, डिविजन नं.१ पाँचथर र स्वामीनारायण–आशीर्वाद जे.भी.सँग सम्झौता भएको छ । निर्माण कम्पनी र डिविजन कार्यालयबीच गत असार ३० गते सम्झौता भएको हो ।

आयोजनाको लागत २१ करोड २० लाख ७२ हजार सात सय ८६ रुपैंयाँ रहेको छ । एक नम्बर प्रदेश सरकारको बजेटमार्फत् आयोजना शुरु गरिएको हो । आयोजनाको ट्रान्मिसन पाइप लाइन १०.५६ किलोमिटर र डिस्ट्रिब्युसन पाइप लाइन १४.७२ किलोमिटर रहेको खानेपानी तथा सरसफाई डिविजन कार्यालयले जनाएको छ ।

आयोजनाको शिलान्यास गर्दै प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले आयोजनामार्फत् लुम्फाबुङ र नवमीडाँडाबासीले वर्षौदेखि भोग्नु परेको खानेपानी समस्याको हल हुने बताए । मन्त्री आङ्बोले आयोजना सम्पन्न गर्न सबै पक्षले रचनात्मक सहयोग गर्न समेत आग्रह गरे ।

आइतबारै सदरमुकाम फिदिमको एक कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि सरकार प्रतिबद्ध भएर लागिपरेको बताए । दुई तिहाइको सरकार हुँदैमा रातारात सबै सडकहरू कालोपत्रे बनिनहाल्ने र सबै खोलाहरूमा पुल बनिनहाल्ने भन्दै मन्त्री आङ्बोले प्रक्रियागत रूपले विकास हुँदै जाने बताए ।

फिदिमबाट प्रकाशित फिदिम टुडे दैनिकको प्रथम वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आङबोले वर्तमान सरकार प्रेस जगतलाई अँठ्याउने पक्षमा नरहेको बताए । सञ्चार क्षेत्रका विकृतिहरूलाई हटाउने काम सरकारले गर्ने तर प्रेस जगतलाई नै नियन्त्रण गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पारे ।

मन्त्री आङ्बोले हालसम्म भएका परिवर्तनको विरुद्धमा अँध्यारो कोठाबाट र चिहानभित्रबाट भइरहेको षड्यन्त्रको सरकारले डटेर सामना गर्ने बताए ।