इटहरी/ नेपालमा विकास निर्माणका काममा सम्बन्धित निकायहरूबीच समन्वय नहुने घटना पुरानो भने होइन । तर निर्माणाधीन रानी, विराटनगर हुँदै धरानसम्मको ६ लेन सडक योजनाको इटहरी तरहरा सडक–खण्डमा सरकारी कार्यालयले कति लापरबाही गर्छन् भन्ने कुरालाई उदाङ्गो पारिदिएको छ ।

तरहरा क्षेत्रमा ३ मिटर बगैंचासहितको फराकिलो सडक खण्डतिर हेर्दा सडकबीचमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । त्यहाँ ठूल्ठूला हाईटेन्सन विजुलीका पोल छन् । सडक बीचमा दायाँ–बायाँ दुवैतर्फ पोल ठडिएका छन् । सडक पिचअघि नै हटाउनु पर्ने ती पोलहरू विद्युत् प्राधिकरण र परियोजनाबीच समन्वय नहुँदा पिच भएको लामो समय भइसक्दा पनि पोल हटाइएका छैनन् ।

खुल्ला सडकको बीच भागमा रहेका विजुलीका पोल हट्न नसक्दा त्यस ठाउँमा धेरै दुर्घटना भइसकेका छन् । जसका कारण सवारी चलाउन कठिन हुने गरेको र ती पोलहरू तत्काल नहटाए कुनै पनि बेला अझ ठूलो दुर्घटना निम्तिन सक्ने इटहरी–२ शान्तिनगरका सफारी चालक हर्क बस्नेत बताउँछन् । सडकबीचमा रहेका विजुलीका पोल दुर्घटनाको हिसाबले अत्यन्तै संवेदनशील भएको उनको भनाइ छ । बीच सडकको ठूला फलामका पोल डरलाग्दो भएको उनी बताउँछन् ।

यता ६ लेन सडक आयोजनका इञ्जिनियर रमेशकुमार गोइतले भने पोलहरू व्यवस्थापन गर्न समस्या भएको बताए । यस विषयमा माथिल्लो निकायसम्म कुरा पु¥याएको बताए । ‘सडकभित्रका पोल मात्र निकाल्ने कुरा समस्यामा नरहे पनि हाईटेन्सनको फलामे पोल घाँडो भएको पक्का हो’ –इञ्जिनियर गोइतले भने ।

यता सडक निर्माण कार्य पोलकै कारण समस्यामा परेको निर्माण ठेकेदार कम्पनी आशिष निर्माण सेवाका इञ्जिनियर सागर बरालले बताए । राम्रो मौसम हुँदा ठूला पोलको कारण काम गर्न नसकेको गुनासो गरे । ‘अहिले हामीले काम गर्नुपर्ने समयमा पोलकै कारण काम गर्न सकिएन’– उनले भने । कालोपत्रे गर्न सम्पूर्ण कार्य पूरा गरे पनि पोलहरूले काम गर्न नसकेको उनको भनाइ थियो । यस विषयमा आफूहरूले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई समेत भेटेरै जानकारी गराएपछि केही आश्वासन पाएको उनको भनाइ थियो ।

२०७० साल असारदेखि नै विराटनगरदेखि दुई उपमहानगर इटहरी र धरान जोड्ने २ लेनको ४९ किलोमिटर सडकलाई ६ लेनको बनाउने काम शुरु गरिएको थियो । विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको ६ लेनको सडकको केही खण्डमा काम रोकिए पनि इटहरी–धरान खण्डमा भने काम भइरहेको छ । पूर्वको एक्लो महानगर विराटनगरदेखि दुई उपमहानगर इटहरी र धरान जोड्ने २ लेनको ४९ किलोमिटर सडकलाई ६ लेनको बनाउन २०७० साल असारदेखि नै काम शुरु गरिएको थियो ।

बगैंचासहितको सडक बन्दै
रानीदेखि धरानसम्मको ६ लेन सडकमा सबैभन्दा सुन्दर इटहरी–तरहराको सडक बन्दै छ । यो सडक बीचमा ३ मिटरको बगैंचासहित ६ लेनको बन्दै छ । अहिले विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको केही खण्डमा हुनसकेको छैन ।

यस सडक–खण्डको इटहरीदेखि तरहरासम्मको ५ किलोमिटर सडक अत्याधुनिक बन्दैछ । इटहरीको मुख्य चोकदेखि तरहरासम्म हालको सडकको बीच भागबाट २५–२५ मिटर दायाँ–बायाँसम्म सडक फैलिनेछ । राजमार्ग निर्माण व्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी–धरान सडकलाई सेण्टर लाइनबाट दायाँ–बायाँ २५–२५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ ।

इटहरी–तरहरा सडक ५ किलोमिटर लामो हुनेछ भने चौडा ५० मिटरको हुनेछ । सडकको बीच भागमा ३ मिटरको बगैंचा हुनेछ । बगैंचाको बीचमा सोलार बत्तीको लागि पोल गाडिनेछ । सडकको दायाँ–बायाँ फुुटपाथ र साइकल लेन हुनेछ । यो सडक–खण्डमा दोहोरो गाडी कुदाउन मिल्ने सर्भिस लेन रहनेछ ।