लक्ष्मीमार्ग/ बेलबारीमा नेतृत्वले एकलौटी ढंगले नगर तथा वडाकमिटी गठन गरेको भन्दै केही असन्तुष्ट पक्षले जिल्ला कमिटीमा उक्त निर्णय खारेज गरेर पुनर्गठन गर्न माग गरेका छन् ।
नेकपा एकीकरणको लामो समयपछि पनि स्थानीय कमिटीहरूले पूर्णता नपाउँदै विवाद बढ्दै जान थालेको छ । ओली गुटले पूर्व माओवादीभित्रको गुटलाई साथ लिएर स्थानीयस्तरमा आफ्नो कब्जा जमाउँदै पुराना र इमानदार कार्यकर्तालाई पाखा लगाउने काम भएको असन्तुष्ट पक्षका नेताहरूले आरोप लगाएका छन् ।
२ सय ३६ जना सङ्गठित सदस्यहरूले हस्ताक्षर गरेर जिल्ला कमिटी मोरङमा गएर असन्तुष्टि जनाउँदै शुक्रबार उजुरी दर्ता गराएका छन् । ‘जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोख्रेललाई भेटेर बुझाउने गरी गएका थियौं’ पूर्व डाँगीहाट गाउँ कमिटीका उपाध्यक्ष सुजय गौतमले भने, ‘उनीसँग भेट नभएपछि कार्यालय सचिव भोला पौडेललाई हाम्रो मागसहित उजुरी दिएर दर्ता गराएका छौँ । अध्यक्ष पोख्रेलले नै म कार्यालयमा आएर हेर्छु निवेदन दर्ता गराएर जानुहोस् भनेर फोनमा भन्नुभयो । पहिलो चरणको आन्दोलन स्वरूप शुक्रबार जिल्ला कमिटीलाई जानकारी गरायाैं । विशेषगरी वडा नम्बर १, ४ र ११ मा बढी विवाद भइरहेको छ ।’
‘अहिले गठन भएको नगर र वडा कमिटी पुनर्विचार गर्न माग गरेका छौं’ गौतमले भने हाम्रा माग जिल्ला कमिटिले सम्बोधन नगरे पार्टी कार्यालयमा तालाबन्दीसहितका कार्यक्रम लिएर अगाडि बढ्छौं ।’ सङ्गठित सदस्यसमेत नभएका व्यक्तिहरूसमेत वडा कमिटीमा पर्न थालेपछि बेलबारीमा विवाद उग्र बन्दै जान थालेको गौतमले बताए ।
‘पार्टी एकता हुँदा देशकै मुहार फेरिन्छ भन्ने धेरैले महसुस गरेका थिए’ पूर्व एमालेका जिल्ला सदस्य तथा मोरङ क्षेत्र नम्बर ३ का सह–इञ्चार्जसमेत रहेका राजेश बस्नेतले भने अहिले सल्लाह सुझाव बिना नै सङ्गठन विस्तार हुन थालेकोले नेकपा कता जाँदै छ भनेर सहजै मूल्याङ्कन गर्न सकिन्छ ।’
बेलबारीका अध्यक्षमा पूर्व माओवादीका पर्शुराम सुवेदी छन् भने सचिव पूर्व एमालेका रविन थापा रहेका छन् । नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदीले आफूलाई र बेलबारी नगरकमिटीलाई औपचारिकरूपमा कसैले जिल्ला कमिटीलाई उजुरी हालेको थाहा नभएको र कहीँ कतै कमी कमजोरी भएको भए पुनर्विचार गर्न सकिने बताएका छन् ।