विराटनगर (रासस) प्रदेशसभाको बिहीबार बसेको बैठकमा ‘प्रदेश सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पेश भएको छ ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पेश गरे । मन्त्री कार्कीले १८१ दफा ११ परिच्छेद र सात अनुसूची रहेको सो विधेयकले प्रदेशअन्तर्गतका सवारी तथा यातायातका सबै समस्या समाधान हुने बताए । प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवा लिम्बूले ‘विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’को प्रतिवेदन सदनमा पेश गरे ।
नेपाली काङ्ग्रेसका सचेतक सूयर्माराज राईले मोरङको कानेपोखरी, बेलबारी र पथरी क्षेत्रका सुकुम्वासीका समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । विगत लामो समयदेखि समस्याग्रस्त सो क्षेत्रमा सट्टाभर्ना, दोहरो स्वामित्व, भूमिहीन, चुरे दोहन र चिस्याङ तथा बक्राहा नदीमा कटानजस्ता समस्या रहेकाले यो अविलम्ब समाधान गर्न प्रदेश सरकारसँग उनले अनुरोध गरे ।
सदस्य कृष्णकुमारी राईले आदिवासी जनजातिले प्राप्त गरेको अधिकार कटौती भइरहेकामा चिन्ता व्यक्त गरे । सदस्य केदार कार्कीले विराटनगरस्थित सत्यनारायण मन्दिरको जग्गा अतिक्रमण एवं हिनामिना भइरहेकाले यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।
सदस्य विमल कार्कीले कृषि मन्त्रालयले किसानका लागि अनुदान दिन निकालेको सूचनाले वास्तविक किसान लाभान्वित हुन नसक्ने भएकाले निर्दे्शिका सच्याउनु पर्ने माग गरे । प्रदेशसभाको अर्को बैठक यहीँ भदौ १८ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।